• ४ जेठ २०८३, सोमबार

प्राङ्गारिक खेतीबाट मनग्गे आम्दानी

blog

बारीमा प्राङ्गारिक खेती गर्नुहुँदै छविलाल न्यौपाने । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, जेठ ४ गते   । भरतपुर महानगरपालिका–२५ का कृषक छविलाल न्यौपाने विगत १४ वर्षदेखि व्यावसायिक प्राङ्गारिक खेतीमा रमाउनुभएको छ । 

२०६८ सालदेखि सुरु गरेका उहाँको खेती अहिले १६ बिघा क्षेत्रफलमा फैलिएको छ । उहाँले वडा नं. २८ मा सात र वडा नं. २५ मा नौ बिघा जमिनमा खेती गर्दै आउनुभएको छ । तीमध्ये तीन बिघा आफ्नै र बाँकी भाडामा 

लिनुभएको हो । 

यसबाहेक साथीसँग मिलेर उहाँले भरतपुर–२४ स्थित प्रभात माध्यमिक विद्यालयको आठ बिघा जग्गा १५ वर्षका लागि भाडामा लिएर खेती विस्तारको काम अगाडि बढाएको बताउनुभयो । 

उहाँले सञ्चालन गर्नुभएको ‘प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र’ बाट खाद्यान्न, तरकारी तथा प्रशोधित सामग्री बिक्री गरी वार्षिक ४० लाख रुपियाँभन्दा बढी आम्दानी हुन्छ । उहाँ भन्नुहुन्छ, “मकैको च्याख्ला, गहुँको दलियालगायत प्रशोधित उत्पादनका साथै विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ ।”  उहाँले उत्पादन गर्नुभएको गाँजर र चुकन्दर जर्मनीमा पुग्छ । यस वर्ष उत्पादन भएको राजमा कतार र दुबईसम्म पुगेको उहाँ बताउनहुन्छ । “केही उत्पादन अर्गानिक मार्टले लैजाने गरेका छन् भने बाँकी स्थानीय बजार र काठमाडौँसम्म पुग्ने गरेको छ,” उहाँले भन्नुभयो ।  उहाँले मुख्य गरी फर्सी, बोडी, घिउसिमी, लौका, टमाटर, करेलालगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । “हाइब्रिड बिउ प्रयोग नगरी स्थानीय बिउलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “रासायनिक खेती गर्दा सुरुवातमा उत्पादन राम्रो देखिए पनि दीर्घकालीनमा लागत बढ्दै जान्छ । रासायनिक विधिबाट गरिने खेतीमा विषका कारण माटो मर्दै जान्छ । जीवाणुरहित माटोमा उब्जनी हुँदैन ।” प्राङ्गारिक माटोमा चाहिने जति जीवाणु हुन्छन् । गँड्यौला त बिनापैसाका खेताला हुन् । उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर नपर्ने यस्ता उत्पादनमा धेरैको आकर्षण बढेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुरुमा बिग्रिएको माटो सुधार्न धेरै समय र लगानी लागे पनि एक पटक प्राङ्गारिक माटो तयार भएपछि लागत व्रmमशः घट्दै जान्छ । अहिले मलमा धेरै खर्च हुँदैन तर झार व्यवस्थापनमा लागत बढी लाग्छ ।” अर्गानिक उत्पादन अत्यन्त महँगो हुन्छ भन्ने बुझाइ भ्रम भएको उहाँ बताउनुहुन्छ । “अर्गानिक मार्ट र विदेश जाने उत्पादनका हकमा रोप्नुभन्दा अगावै मूल्य निर्धारण हुन्छ,” उहाँले भन्नुभयो, “अन्य बजारमा त मूल्य लगभग सबैको बराबरी नै हो ।”

उहाँका अनुसार रोग तथा किरा नियन्त्रणका लागि एग्रोभेटको कुनै औषधी प्रयोग गरिँदैन । आवश्यक जैविक विषादी, मल, औषधी तथा पोषण सामग्री आफैँ तयार पारिन्छ । “एग्रोभेटको बिल नै शून्य हुन्छ,” उहाँले भन्नुभयो । 

खेती व्यवस्थापनमा मासिक रूपमा दुई जना स्थायी कामदार र श्रीमान्श्रीमती स्वयम् खटिने गरेका छन् । २०८२ को वैशाखदेखि चैतसम्म दुई हजार ३८७ जना दैनिक ज्यालादारी खेताला प्रयोग गरिएको उहाँले बताउनुभयो । “विषादीले उत्पादन धेरै दिने होइन, बरु माटोमा भएका आवश्यक जीवाणु मार्ने काम गर्छ,” उहाँले भन्नुभयो, “प्रकृतिसँग आफैँ नियन्त्रण र सन्तुलन गर्ने शक्ति हुन्छ । वर्षभरि सबै समयमा किरा लाग्दैन ।”

उहाँले किसानको आम्दानीको ठुलो हिस्सा विषादी र औषधीमा खर्च हुने गरेको उल्लेख गर्नुभयो ।