• ४ जेठ २०८३, सोमबार

‘आयोजना बैङ्क’ मा योजना समावेश गरिँदै

blog

जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको छलफलका सहभागी ।

बनेपा समाचारदाता

बनेपा, जेठ ४ गते   । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि काभ्रेपलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगे ती योजनालाई ‘आयोजना बैङ्क’ मा समावेश गर्ने काम सुरु भएको छ । 

बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनोटसम्बन्धी निर्देशिका, २०८३ जारी गरेर आगामी आवको योजना तर्जुमाको सुरुवात गरेको छ । जिल्लाका १३ वटै स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ । जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आवका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्रस्तरीय छलफल गरिएको हो । प्रदेश सरकारले अघि सारेको आयोजना बैङ्कबाट योजनालाई प्राथमिकीकरण गरी बजेट विनियोजन गर्ने तयारी गरेपछि जिल्लामा विभिन्न स्थानीय तहबाट अर्बौं रुपियाँ बराबरका योजना माग भएका छन् । 

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजन इन्जिनियर वीरेन्द्रकुमार वज्राचार्यले आगामी आवका लागि स्थानीय तहबाट माग भइआएका योजनाका विषयमा जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिका पदाधिकारीसँग छलफल गरिएको बताउनुभयो । उहाँले आगामी आवका लागि साना साना एक हजार दुई सयभन्दा बढी योजना माग भएको बताउनुभयो ।  “एउटै योजनाको पनि टुव्रmा टुव्रmा पारिएको छ, प्राप्त योजनामा बजेट विनियोजन गर्ने हो भने ४२ अर्बभन्दा बढी रुपियाँ बजेट आवश्यक पर्ने देखिन्छ,” उहाँले भन्नुभयो । उहाँले आगामी आवका लागि माग भएर आएका योजना आयोजना बैङ्कमा समावेश गर्ने काम भइरहेको बताउनुभयो । 

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले आगामी आवका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट माग भइआएका योजनाबारे जिल्लास्तरीय समितिमा छलफल गरिएको बताउनुभयो । उहाँले आगामी आवका लागि जिल्लामा कृषि क्षेत्रमा करिब डेढ सय योजना माग भएको बताउनुभयो । उहाँले स्थानीय तहबाट माग भइआएका योजनामा बजेट विनियोजन गर्ने हो भने जिल्लामा मात्रै ७५ करोड रुपियाँ आवश्यक पर्ने बताउनुभयो । उहाँले स्थानीय तहबाट माग भइआएका योजनालाई आयोजना बैङ्कमा समावेश गर्ने काम अघि बढाउन लागिएको बताउनुभयो । 

प्रदेश सामाजिक विकास कार्यालयका प्रमुख रनमाया फयाकले कार्यालयको कार्यक्षेत्र रहेको काभ्रेपलाञ्चोकमा आगामी आवका लागि माग भएर आएका योजनाका विषयमा छलफल गरिएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तहमा विद्यालय पूर्वाधार, सामुदायिक क्याम्पस, खेलकुद पूर्वाधार, युवालक्षित सिप विकास गरी करिब पाँच सय योजना माग भएको बताउनुभयो । 

उहाँले जिल्लाका विभिन्न स्थानीय तहबाट माग भइआएका योजनाबारे छलफल गरी ती योजनालाई प्रदेश सरकारको आयोजना 

बैङ्कमा प्रविष्टि गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले कार्यालयको कार्यक्षेत्र रहेका दोलखा, सिन्धुपाल्चोक, रामेछापमा पनि जिल्लास्तरीय समितिसँग छलफल अघि बढाएको बताउनुभयो । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले स्वास्थ्य संस्था भवन निर्माण, स्वास्थ्य संस्था सबलीकरण, आरोग्य भवन निर्माण, खुला व्यायामशाला निर्माणलगायतका ५० भन्दा धेरै योजना माग भएको बताउनुभयो । उहाँले माग भइआएका योजनालाई आयोजना बैङ्कमा प्रविष्टि गर्ने काम भइरहेको बताउनुभयो ।