सुर्खेत समाचारदाता
सुर्खेत, जेठ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दल मिले मात्र प्रदेशका सरकार पुनर्गठन गरिने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यदि प्रदेश सरकार पुनर्गठन गर्ने हो भने राष्ट्रिय र साझा सहमतिको हुनुपर्ने बताउनुभयो । कांग्रेस, एमाले, नेकपा र मधेशवादी दल मिलेर साझा सरकार बनाउने हो भने सोच्न सकिन्छ तर कांग्रेससँग वा एमालेसँग मात्रै मिलेर सरकार बनाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यदि प्रदेश सरकार नयाँ बनाउने हो भने सबै दलसँग सहकार्य गर्न सकिन्छ तर एक÷दुई दलसँग मिल्ने हो भने हामी जाँदैनौँ, जसलाई जान मन लाग्छ गए हुन्छ ।” उहाँले आफूहरूलाई सरकारको नेतृत्व गर्ने हतार नभएको बताउनुभयो ।
यसै गरी वाम एकताका विषयमा संयोजक दाहालले कम्युनिस्ट पार्टी एकताका सम्बन्धमा सबैसँग छलफल र कुराकानी भइरहे पनि अहिले नै एकता हुने खालको अवस्था नरहेको बताउनुभयो । उहाँले पहिले आफ्नै पार्टीलाई पुनर्गठन गर्ने काम गरिरहेको र त्यसपछि अन्य दललाई पनि समाहित गराउने योजना रहेको तर अहिले नै एकता भइहाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
उहाँले एक अर्को प्रशङ्गमा सरकारको काम कर्तव्यबारे गुनासो गर्नुभयो । देशको अवस्था असहजतामा गुज्रिरहेको टिप्पणी गर्दै फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार जसरी अगाडि बढ्नुपर्ने हो त्यसरी नबढेको गुनासो गर्नुभयो ।
झन्डै दुई तिहाइको बहुमत हुँदा पनि सुरुमा संसद् बैठक बोलाउने, भोलिपल्ट रोकेर अध्यादेश ल्याउने कार्य भएको उहाँले आरोप लगाउनुभयो ।