तिलाचन पाण्डे
तम्घास (गुल्मी), जेठ ४ गते । पालिकाभित्रका नागरिकका गुनासा सहज रूपमा सङ्कलन र समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको मोबाइल एप्समा अपेक्षाअनुसार गुनासा नआएको पाइएको छ ।
नागरिकका गुनासा सुन्ने र समाधान गर्ने उद्देश्यले प्रयोगमा ल्याइएको उक्त एप्समा गुनासा अत्यन्त न्यून मात्रामा आउने गरेका छन् ।
दुई वर्षअघि गुल्मीको कालीगण्डकी गाउँपालिकाले करिब दुई लाख रुपियाँ लागतमा नागरिकका गुनासा सङ्कलन गर्न सञ्चालनमा ल्याएको मोबाइल एप्समा अपेक्षित रूपमा गुनासा नआएको गाउँपालिकाले जनाएको छ ।
पालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी ओमबहादुर थापाका अनुसार एप्स सञ्चालनमा रहे पनि गुनासा कमै मात्रामा आउने गरेका छन् । नागरिकका गुनासा एप्समार्फत सङ्कलन गरी समाधान गर्ने उद्देश्य रहे पनि सोअनुसार प्रयोग नभएको उहाँको भनाइ छ । दुई वर्षको अवधिमा सात वटा मात्र गुनासा प्राप्त भएको र ती सबैको समाधान भइसकेको उहाँले बताउनुभयो ।
मोबाइल एप्सबारे जानकारीको अभाव तथा पहुँचको कमीका कारण पनि गुनासा कम आएको हुन सक्ने थापाको अनुमान छ ।
पछिल्लो समय मोबाइल एप्समा गुनासा राख्नुभन्दा सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक विषय तथा तस्बिर राख्दा छिटो ध्यानाकर्षण हुन्छ भन्ने सोचले पनि एप्सको प्रयोग कम भएको हुन सक्ने उहाँको भनाइ छ । गत वर्ष वर्षायाममा केही गुनासा आए पनि पछिल्लो समय संख्या न्यून रहेको गाउँपालिकाले जनाएको छ ।
चन्द्रकोटको निःशुल्क टोल–फ्री सेवामा पनि कमै गुनासा
दुई वर्षअघि गुल्मीको चन्द्रकोट गाउँपालिकाले नागरिकका लागि सञ्चालनमा ल्याएको निःशुल्क टोल–फ्री नम्बरमा पनि कमै मात्रामा गुनासा आउने गरेका छन् ।
पालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीका अनुसार टोल–फ्री नम्बरमा कहिलेकाहीँ मात्र फोन आउने गरेको छ । नागरिकले श्रम, अनुदान, सेवा प्रवाह तथा कर्मचारी उपस्थितिबारे जानकारी लिन बढी सम्पर्क गर्ने गरेका छन् ।
त्यस्तै, जिल्ला कार्यालयसम्म जाँदा आवश्यक पर्ने कागजात तथा समन्वयका लागि पनि फोन आउने गरेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीसँग सीधा सम्पर्क हुने भएकाले पनि टोल–फ्री सेवाको प्रयोग घटेको हुन सक्ने ज्ञवालीले बताउनुभयो ।