केदार तिमल्सिना
बनेपा, साउन १ गते । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारको लागि नयाँ ठेक्का (बोलपत्र) आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको लागि बिहीबार नयाँ बोलपत्र आह्वान गरेको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको चार दशमलव १५५ किलोमिटर सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान गरिएको बताउनुभयो । “धुलिखेल–खावा सडक विस्तारको लागि अर्थ मन्त्रालयबाट ४२ करोड ९० लाख रुपियाँको स्रोत सुनिश्चितता भएसँगै चौध महिनाभित्र सडकको काम सम्पन्न गर्ने गरी नयाँ ठेक्का आह्वान गरेका हौँ” सिडिई योगेशले भन्नुभयो । उहाँले अरनिको राजमार्ग सुर्यविनायक–धुलिखेल सडक विस्तारको अन्तिम विन्दुबाट नै सडक विस्तारको काम सुरु गरिने बताउनुभयो । सिडिई योगेशले सडक विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, धुलिखेल क्याम्पसलाई पहिरोबाट जोगाउनका लागि स्लोप प्रोटेक्शन वाल, मेलिङ, जुटनेटिङका साथै वर्षायाममा आउने पानीलाई एक स्थानमा सङ्कलन गरी व्यवस्थित तरिकाले बगाइने बताउनुभयो । उहाँले सडक विस्तारको लागि अधिकांश स्थानमा सडक कटिङको काम सकिएको बताउँदै सडक कटिङ गर्न बाँकी रहेको स्थानमा ड्रेन राख्नको लागि मात्रै कटिङ गरिने बताउनुभयो । नयाँ ठेक्का मार्फत काम गर्दा डिभिजनले फागुनदेखि चैत महिनाभित्र सडक कालोपत्रे गरिसक्ने गरी काम अघि बढाइने बताउनुभयो ।
“फागुन÷चैत महिनाभित्र सडक कालोपत्रे सकिएपछि पहिरो आउन नदिनका लागि गर्नुपर्ने कामलगायतका साना कामहरू गराउने छौँ” सिडिई योगेशनले भन्नुभयो । उहाँले सडक विस्तार गर्ने क्रममा धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको बन्ने बताउँदै उक्त सडक खण्डमा नयाँ प्रविधिको प्रयोगका साथै ग्राभेलमाथि सिमेन्टेड बेस राखेर डिबिएम र आस्फाल्ट कालोपत्रे गरिने बताउनुभयो । यसअघि उक्त सडक विस्तारको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सम्झौता अनुसारको समय सीमा र डिभिजनले थप गरेको समयमा पनि काम नगरेपछि डिभिजनले गत फागुन १५ गते ठेक्का अन्त्य गरेको थियो ।
यसअघि सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाले धुलिखेलदेखि पकुचासम्मको दुई किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस गर्ने काम सकेर कालोपत्रे गर्ने अवस्थामा पुर्याएपनि गत असोज महिनाको बाढी पहिरोका कारण क्षति गरेको थियो । उक्त कम्पनीले पकुचाभन्दा तलको दुई किलोमिटर सडकमा भने सडक विस्तारको कुनै काम गरेको छैन । उक्त सडक विस्तारको काममा ढिलाइ भएका कारण संसद्मा समेत पटक÷पटक सरकारको ध्यानाकर्षण गराइएको थियो ।