• १४ असार २०८२, शनिबार

दाङ जिल्लालाई पूर्ण खोपयुक्त घोषणा

blog

दाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा सभाको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेम सारु मगर । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, असार १४ गते ।
दाङ जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता’’ भन्ने नारा सहित दाङ पूर्णखोप, सुनिश्चिता तथा दिगोपना जिल्ला सभामार्फत शनिबार दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले खोप सुनिश्चित्तामा उत्कृष्ट उपलब्धी हासिल गरेको बताउनुभयो । पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्य लागि एउटा महत्त्वपूर्ण आयम भएको बताउनुभयो ।  सबै मानिसहरू स्वस्थ भए मात्र देशमा समृद्धि हुने भएकोले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्य पहुँच पुर्‍याउन लागि परेको बताउनुभयो ।

यहि अभियानमार्फत पूर्णखोप सुनिश्चितता तथा दिगोपना पनि भएको मन्त्री मगरले बताउनुभयो । यस्तै उहाँ क्यान्सर बिरामीका लागि दुई लाखसम्मको नि:शुल्क उपचारको सुनिश्चितता गरेको समेत जानकारी दिनुभयो ।  अहिले एउटा व्यक्ति एक सय रुपियाँमा ५६ रुपियाँ उपचारका लागि खर्च भइरहेको त्यसलाई न्यूनीकरण गर्न सबै नागरिकले रोग लाग्नुभन्दा रोग नलाग्न आफ्नो स्वास्थ्य ध्यान दिनुपर्ने मन्त्री मगरको भनाइ थियो ।

यस्तै मन्त्री मगरले दाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना बनाउने लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूलाई बधाइ एवम् कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यको सबैको सहयोगले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चित गराउन सफल भएको बताउनुभयो ।

खोप समन्वय समिति दाङको संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री खेम सारु मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट लमही नगरपालिकाको नगर प्रमुख जोगराज चौधरी, स्वास्थ्य महाशाखाको तर्फबाट घोराही उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको प्रमुख राधा पौडेल, नेपाल पत्रकार महासङ्घ दाङको अध्यक्ष सन्तोष सुवेदी, महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट महिला स्वयंसेविका बिना खनाल लगायतले शुभुकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा दाङको दसवटै स्थानीय तहको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूकाे सहभागीता रहेको थियो ।