महानगरपालिका र खानेपानी संस्थानबिच सेवा विस्तारको समझदारी
वीरगन्ज, साउन १ गते । खानेपानीको लागि चापाकलमा आश्रित रहेका परिवारहरूलाई चापाकलहरू सुकेपछि सृजना भएको खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबिच बिहीबार खानेपानी सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
खानेपानीको अभाव र समस्यालाई समाधान गर्ने उद्देश्यले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको पहलमा बिहीबार सम्पन्न समझदारी पत्रमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गर्नु भएको हो ।
बिहीबार हस्ताक्षरित समझदारी पत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीको समस्याहरूको दीर्घकालीन समाधान खोज्ने , नगरपालिकाभित्रका थप घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने , नयाँ खानेपानी जडान प्रक्रियालाई अझ सरल, छिटो र पारदर्शी बनाउने र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउने मुख्य उद्देश्य उल्लेख गरिएको छ ।
नेपाल खानेपानी संस्थानले खानेपानी सेवा विस्तारको मुख्य जिम्मेवारी वहन गर्ने समझदारी पत्रमा जनाइएको छ । संस्थानले नयाँ धारा जडान गर्ने , खानेपानी सेवा सुदृढ गर्नुका साथै पाइपलाइन विस्तार गर्ने ,हालको पाइप लाइनको मर्मत सम्भार गर्ने , उपभोक्ताहरूलाई नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने रहेको छ ।
त्यस्तै गरी वीरगन्ज महानगरपालिका कार्यालयले आवश्यक संस्थानको नियमानुसार लाग्ने धरौटी रकम संस्थानले क्रमैसँग फर्स्यौट गर्दै जाने गरी तत्काल संस्थानको खातामा जम्मा गर्ने , नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने , खानेपानी वितरण सम्बन्धमा कुनै गुनासो वा सुधार गर्नुपर्ने भए तत्काल संस्थानलाई आवश्यक कारबाहीको लागि जानकारी गराउने र महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तान भएको प्रमाण पेश गर्नु पर्ने व्यवस्था मिलाउनुपर्ने समझदारी पत्रमा जनाइएको छ ।
२०८२ साउन १ गते बिहीबार हस्ताक्षर भएपछि २०८२ पौष मसान्तसम्म समझदारी लागू हुने र आवश्यक भए पछि पुन सम्झौता अवधि थप गर्न सकिने समझदारी पत्रमा उल्लेख छ । नगरप्रमुख राजेशमान सिंहले भन्नुभयो “यो समझदारीले महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेका छौँ”।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले खानेपानीको महत्त्व तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यहरू पनि समावेश गरिएको जानकारी दिनुभयो । खानेपानी मन्त्रालयले उत समझदारी पत्रको सफल कार्यान्वयनका लागि एक सहजकर्ताको भूमिका निर्वाह गर्ने नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयो ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले संस्थान वीरगन्जका बासिन्दाहरूलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको र यस समझदारीले दुई निकायबिचको सहकार्यलाई अझ मजबुत बनाउने बताउनुभयो ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ र नेपाल खानेपानी संस्थान, वीरगन्ज शाखाका प्रमुख प्रवीण साह लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गत दुई वर्षदेखि नै महानगरमा चापाकल सुकेर पानीको समस्या सुरु भएको थियो भने सुरुका दिनमा केही सार्वजनिक स्थानका चापाकलहरू मात्र सुक्ने गरेकामा गत वर्ष घरायसी प्रयोजनका चापाकलहरू पनि एकपछि अर्को सुक्दै गएर समस्या झन् जटिल बन्दै गएको थियो । यस वर्ष अझ धेरै चापाकल सुकेपछि खानेपानीको समस्या विकराल बन्न पुगेको हो ।