काठमाडौँ, असार १४ गते । नेपाली सेनाका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचौ वीर गणेशमान सिंह १० किलोमिटर (टेन के ) दौडको उपाधी उचाल्नुर्भको छ । शनिबार बिहान सम्पन्न प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रोकाया र श्रेष्ठले उपाधि उचाल्नुभएको हो । सेनाका रोकायाले ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्नुभयो भने नेपाल रन यूकेकी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा शनिबार सम्पन्न दौडमा पुरूषतर्फ सेनाका खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दोस्रो र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) ले तेस्रो स्थान हासिल गर्नुभयो । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गर्नुभयो ।
त्यस्तै महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्रो (४० मिनेट २७ सेकेन्ड ) र फूलमति रानाले सान्त्वना स्थान हासिल गर्नुभयो ।
बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्ग पुगेर टुङ्गिएको थियो । तीन वटा विभागीय टोली, विभिन्न संघसंस्था, स्कुल, कलेज, केहि विदेशी खेलाडी गरि झण्डै पाँच सय खेलाडीको सहभागिता थियो ।
दस कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले पाँच हजार रुपियाँ प्राप्त गरेका छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गर्नुभएको थियो ।