• १४ असार २०८२, शनिबार

शिक्षा र कला जोड्ने प्रदर्शनी

blog

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रदर्शनी उद्घाटन गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते । काठमाडौँ महानगरपालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकका गरी एक हजार चार सयभन्दा बढी चित्रकला र मूर्तिकलाको प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । काठमाडौँ महानगर शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित शिक्षामा सिप कार्यक्रम अन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ शीर्षकमा प्रदर्शनी सुरु भएको हो । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी उद्घाटन गर्दै प्रदर्शनीले शिक्षा र कलालाई जोड्न मद्दत गर्नुका साथै बालबालिकालाई सिर्जनात्मक क्षेत्रमा अगाडि बढाउन प्रेरित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले ‘गुड फ्राइडे’ भनेर शुक्रबार विविध सांस्कृतिक र सिपमूलक काममा विद्यार्थीलाई संलग्न गराउँदै लैजाने कार्यक्रम अन्तर्गत प्रतिष्ठानले समन्वय गरेर चित्रकला र मूर्तिकलाको सिर्जनात्मक अभ्यासका लागि प्रेरित गर्दा ती सिर्जना तयार भएका हुन्; जुन उत्कृष्ट बनेका छन् ।”  

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा करिब एक हजार तीन सय विद्यार्थी र शिक्षकका गरी एक हजार चार सयभन्दा बढी सन्देशसहितका सिर्जना प्रदर्शनीमा रहेको जानकारी दिनुभयो । उहाँले समाजमा सिर्जनशील नागरिक बनाउन कलाको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रदर्शनीमार्फत विद्यार्थीलाई भविष्यमा चित्रकला क्षेत्रमा लाग्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।  

प्रदर्शनीका संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कला क्षेत्रमा संलग्न भएर पनि नाम, दाम र चर्चा बटुल्न सकिन्छ भन्नुभयो । उहाँले स्वतन्त्र रूपमा आफ्नो सिपलाई मूर्त रूप दिन सकिने भन्दै कलाकारिताप्रति विद्यार्थीको झुकाव बढाउन र अभिभावकलाई आफ्ना सन्तानलाई सिर्जनशील बनाउन प्रदर्शनीले सहयोग पु¥याउने बताउनुभयो । उहाँले गत वर्ष विद्यालयस्तरको प्रदर्शनीमा नौ वटा विद्यालय सहभागी भएकामा यस वर्ष ४६ विद्यालयको उत्साहजनक  सहभागिता रहेको बताउनुभयो । प्रदर्शनीमा छात्रछात्राले विविध आयाम र सन्देश बोकेका चित्रकला, विभिन्न चर्चित व्यक्तित्वको पोट्रेट स्केच र माटाका विविध सजावटका सामग्री, मन्दिर, मूर्ति, खुत्रुके, कप, गिलासलगायतका घरमा उपयोग हुने सयौँ डिजाइनका मूर्तिकला तयार पारेका छन् । प्रदर्शनीको सन्दर्भ पारेर विद्यार्थीका प्रशिक्षक तथा सहायक प्रशिक्षकले सिर्जना गरेका कलाकृति समावेश गरी ‘एकता’ शीर्षकका प्रदर्शनी  पनि आयोजना गरिएको छ । प्रदर्शनी आगामी  मङ्गलबारसम्म चल्ने छ ।