• १४ असार २०८२, शनिबार

उपत्यकाको जलउत्पन्न प्रकोप व्यवस्थापन

blog

काठमाडौँ उपत्यका सृष्टिकालमा तलाउका रूपमा थियो भन्ने मान्यता छ । मञ्जुश्रीले चोभारको डाँडो काटेर क्रमशः पानीको निकास खोलेपछि यहाँको जमिन खेतीयोग्य बन्दै गएको मानिन्छ । पानी बग्ने क्रममा नदी तटीय क्षेत्र केही होचो र बाँकी भाग केही अग्लो बन्न गएको भूगोलविद्को भनाइ छ । यसरी दुईखाले भूसतह भएका कारण बर्सातको पानी तुरुन्तै बगेर नदीसम्म पुग्ने प्रणालीको विकास भएको पाइन्छ । काठमाडौँ उपत्यकाभित्र नदी, खोला र खहरेमार्फत नै बर्सातको पानी व्यवस्थापन हुँदै आएको छ । आधुनिक काल सुरु हुनुअघि नदी, खोला तथा खहरेहरूले स्वच्छन्द रूपले जलग्रहण गरी प्रवाह हुन पाउँथे । मानव बस्तीले जल प्रवाहमा कुनै प्रकारको अवरोध सिर्जना गरेको थिएन । आधुनिक कालसँगै सर्वसाधारण नागरिकको राजधानीसँगको पहुँचमा आएको वृद्धिसँगै गृह निर्माणको आवश्यकता बढ्न जाँदा जमिनी मूल्यको अत्यधिक वृद्धिसँगै नदी, खोला र खहरेको अतिक्रमण हुन थालेको पाइन्छ ।

राणाकालमै भीमशमशेरको पालामा भीम ढलको नाम दिएर निकास व्यवस्थापन गर्न थालिएको भए पनि पानी निकासको बारेमा उतिबेला चासो दिएको पाइँदैन । आधुनिक कालसँगै विकास भएका नयाँ संरचनाबाट निस्कने पानी पनि राणाकालीन खिंढबाटै प्रवाह हुन बाध्य थिए । आधुनिककालमा निर्माण भएका सडकमा मात्र नयाँ ढल राख्ने प्रचलन गरेको पाइन्छ । यसरी भूमिगत रूपमा व्यवस्थापन गरेको पानी अन्ततः नदी तथा खोलामा नै पुग्छ । आधुनिक भनिएको कालमा निर्मित सम्पूर्ण संरचनामा पानी निकासका लागि भूमिगत ढल नै निर्माण गर्ने गरिएको कारण कहिलेकाहीँ ढल अवरुद्ध हुन गई ठाउँ ठाउँमा डुबान हुने तथा जनजीवन अस्तव्यस्त हुँदै आएको छ । अर्कोतर्फ नदी तथा खोला अतिक्रमण तथा अवरोधले पनि पानी निकासमा प्रतिकूल असर पार्ने गरेको छ । जसको कारण बर्सातमा डुबान हुने गरेको हो ।

द्रुतगतिमा भएको सहरीकरणका कारण निर्माण अवशेषलाई सोझै नदीमा खसाउने गरेका कारण नदी अतिक्रमण त छँदै छ, नदी दुर्गन्धितसमेत भएको छ । सहरीकरणसँगै अप्राकृतिक चिज तथा वस्तु नदीमा विसर्जन गर्ने, नदीमा रहेको प्राकृतिक चिजवस्तु जस्तै : बालुवा गिटी कहिल्यै ननिकाल्ने गर्दा नदीको भुइँ सतह बर्सेनि माथि उठ्दै गएका कारण बर्सातमा जल सतह अस्वाभाविक रूपमा माथि आई तटीय क्षेत्रका बस्तीमा डुबान हुने, जनधनको क्षति हुने गरेको छ । सरकारले तोकेको मापदण्ड अनुरूपको नदीको बहाब क्षेत्र खाली नगरेको कारण पनि बर्सातको समयमा तटीय क्षेत्रमा डुबान हुने गरेको छ । तसर्थ हरेक साल बर्सातअघि नै सम्बन्धित निकायले नदीको थिग्रेन नदीबाहिर निकाल्नु पर्छ । नदी किनारमा निर्मित भौतिक संरचना निर्माण क्रममा निस्कने फोहोरलाई निर्माण कर्ताको लापरबाही तथा नियमनकारी संस्थाको उदासीनताले नदीमै छोडिदिँदा नदी थप जोखिममा पर्ने सम्भावना वृद्धि हुँदै गएको छ ।

काठमाडौँ उपत्याकाभित्र बहने नदीहरूको प्राकृतिक प्रणालीमा मानव निर्मित विकासे संरचनाका कारण नकारात्मक प्रभाव परेको छ । हरेक नदी, खोला तथा खहरेहरूको प्राकृतिक जलग्रहण क्षेत्र रहेका हुन्छन् तर त्यस्ता जलग्रहण क्षेत्र मानवनिर्मित संरचनाले अतिक्रमित हुन पुग्दा जमिन सतहले जलग्रहण नगरी मानवनिर्मित ढलको माध्यमबाट सोझै नदीसम्म पुग्ने र अस्वाभाविक जल सतह माथि आउने गरेको छ । यस्ता प्राकृतिक जलग्रहण क्षेत्र फराकिलो भएको तर विगत केही वर्षदेखि द्रुतगतिमा जलग्रहण क्षेत्र मासिँदै गएका नदीमध्ये मनोहरा सबैभन्दा ठुलो जलग्रहण क्षेत्र भएको नदीमा पर्छ ।

जलउत्पन्न प्रकोप भई जनधनको क्षति हुनुमा प्रकृतिविरोधी मानवनिर्मित संरचना नै कारण बनेर सामुन्ने देखा पर्छन् । परम्परागत रूपमा सहजै बगिरहेका नदी नाला, खोला तथा खहरेका बहाब क्षेत्रमा अतिक्रमण गरी बनाइएका सरकारी वा गैरसरकारी संरचना निर्माणका कारणले नै पानीको सहज बहाबलाई अवरोध पु¥याउने गरेको पाइन्छ । आजभन्दा ५० वर्षपहिले हालको चक्रपथ निर्माण कालयता बनाइएका योजनामा काठमाडौँ उपत्यकाको नदी प्रणालीलाई बेवास्ता गरेकै कारण हाल बर्सातको समयमा तल्लो तटीय क्षेत्रमा डुबान भई जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आइपरेको छ । नदीको बहाब क्षेत्र निर्धारण गर्दा सदियौँदेखि नदीले चर्चिने गरेको स्थानलाई पनि बेवास्ता गर्दै विभिन्न संरचना बनाएर अतिक्रमण गरेकै कारण हाल बर्सातको समयमा पानीले निकास नपाउँदा क्षति हुनु गरेको छ । धोवी खोला, मनोहरा, हनुमन्ते, कर्मनासा र नक्खु खोला यसका उदाहरण हुन् । 

काठमाडोँ उपत्याकामा निर्मित भवन संरचनामा परेको पानीको व्यवस्थापनमा हाम्रो मापदण्ड चुकेको छ वा मापदण्डको सफल कार्यान्वयन हुन सकेको छैन । हरेक घर कम्पाउन्डमा सेफ्टी ट्याङ्की र बर्सातको पानी सोस्ने वा जमिनमुनि पुनर्भरण गर्ने सोकपिटको व्यवस्थालाई अनिवार्य गरेको भए बर्सातको समयमा ढल निकासमा पर्ने अत्यधिक चाप कम हुन गई नदीको जल सतह स्थिर बनाउन सहयोग पुग्ने छ । हालको ढल व्यवस्थाबाट अनावश्यक र अनुपयुक्त चिज वस्तु सिधैँ ढलमार्फत नदीमा मिसिन जाँदा अकल्पनीय ढङ्गबाट नदीको भुइँ सतह अस्वाभाविक रूपले वृद्धि भइरहेको र त्यसको समयमै व्यवस्थापन गर्ने स्थायी सरकारी निकायगत संरचना नबनाउँदा नदी तटीय क्षेत्रमा सालबसाली जलउत्पन्न प्रकोपको सिकार बन्नु पर्ने अवस्था सिर्जना हुन पुगेको छ । तसर्थ जमिनमुनीको पानीको सतह घटेको कारण भूसतह भासिने, मानव निर्मित संरचनामा प्रतिकूल असर पुग्ने र त्यसको रोकथामका लागि जमिनमा जल पुनर्भरणको महत्वाकाङ्क्षी योजना ल्याउन जरुरी छ । यस योजनाको कारण बर्सातको समयमा नदीको जल सतह नियन्त्रण गर्न मद्दत पुग्छ ।

हाल निर्माण भइनसकेका नदी, खोला र खहरेहरूका मुहान क्षेत्रमा बर्सातको पानी सङ्कलन र भण्डारण गर्ने सार्थक योजना लागु गरिएमा पनि तल्लो तटीय क्षेत्रको जमिनमुनिको जल सतह सन्तुलनमा सकारात्मक प्रभाव पर्न जान्छ भने नदी तथा खोलाको जल सतहमा पर्न जाने चाप स्वतः कम हुने छ । काठमाडौँ उपत्याकाभित्रका सम्पूर्ण नगरपालिकाले परेको पानीको सङ्कलन र उपयोगको ठोस योजना लागु गर्नु जरुरी छ । जसले परेको पानी तत्तत् स्थानमा नै खपत भई बचत भएको पानी साही स्थानकै जमिनमुनि सोसिने भएकाले नदी तथा खोलाको जलचापमा कुनै असर गर्दैन । बर्सातको समयमा नदी तथा खोलामा कमभन्दा कम पानी मात्र बगाउने व्यवस्था गर्न सके जलउत्पन्न प्रकोपबाट पनि बच्न सकिन्छ । यसका लागि तिनै तहका सरकारले समन्वयकारी तथा एकीकृत योजना लागु गर्नु आवश्यक छ ।

 केही वर्षपहिले विष्णुमती र धोबीखोलामा निर्माणाधीन पुल संरचनाको टेको समयमा नखोल्दा बर्सातले बगाएर ल्याएको पत्कर, घुस्यानले पानी अवरुद्ध गर्दा तटीय क्षेत्रका मानव बस्तीमा लेदोसहितको बाढी पस्दा जनजीवन अस्तव्यस्त भएको थियो । गत सालको असोजमा आएको बाढीले बढी क्षति पु¥याएको मनोहरा, कर्मनासा, नक्खु र हनुमन्ते खोलाको बारेमा सम्बन्धित निकायले अध्ययन गरेको पाइएको छैन । ३० औँ वर्षको जल प्रवाहको असर अध्ययन गरेर मात्र नदीमाथि बन्ने पुलको उचाइ डिजाइन गर्ने अभ्यास विपरित काठमाडौँ र ललितपुर जोड्ने च्यासल पुल अस्वाभाविक रूपमा होचो भएका कारण आसपासका तटीय क्षेत्र पूर्णतया डुबानमा परेका थिए । सम्बन्धित निकायले बर्सातअघि अपनाउनुपर्ने सावधानीको बारेमा लापर्बाही गरेको महसुस गरिँदै छ ।

पछिल्लो समयमा देखिन थालेको जलवायु परिवर्तनको असरका रूपमा अतिवृष्टि, अनावृष्टि, सुक्खा खडेरी, बेमौसमी वर्षा, पश्चिमी र पूर्वीय वायुको चापमा आएको असन्तुलनको कारण हिउँदे वर्षा नहुनु र दिनानुदिन हिउँदमा कम जाडो र वर्षामा बढी गर्मी हुँदै जानु, स्थापित ऋतुजन्य मौसम नहुनु आदि समस्यालाई केन्द्रमा राखेर गहिरो अध्ययन गर्नु आवश्यक छ । भूमिगत ढल निकास प्रणाली, भूमिगत पानीको स्रोतको दूषितीकरण, एकोहोरो भूमिगत पानीको दोहनले भूमिगत जलसतह घट्दै जानुले जमिनको गर्भीय अवस्था कमजोर हुन गई जुनसुकै अवस्थामा भूसतह भासिन गई जनधनको क्षति हुन सक्ने छ । भूमिगत पानीको सन्तुलन जोगाइराख्न पुनर्भरणको प्रणालीलाई पनि समानन्तर रूपमा विकास गर्न जरुरी छ । उपत्यकाको नदी प्रणालीभित्र ठाउँ ठाउँमा बर्सातको पानी सङ्कलन गर्ने, हरेक घरमा बर्सातको पानी सङ्कलन गरेर प्रयोग गर्ने, आफ्नो कम्पाउन्डमा परेको पानी जमिनमै पुनर्भरण गर्ने जस्ता सहभागितामूलक अभियान पनि सँगसँगै चलाउनु पर्छ । 

उपत्यकाभित्रका नदी, खोला तथा खहरेहरू नियन्त्रित बहाब क्षेत्रबाट बहनुपर्ने हो । हरेक वर्ष नदीको पिँधमा जमेको थिग्रेन उत्खनन गरेर अन्यत्र पैठारी गर्ने, नदीमाथि बनेका डिजाइन फेल भएका पुलको निर्माण सुधार गर्ने, नदीको बहाब क्षेत्रमा रहेका प्राकृतिक तथा अप्राकृतिक अवरोध वर्षातअघि नै हटाउने, सरकारले तोकिदिएको मापदण्ड अनुसारको बहाब क्षेत्र कायम गर्ने र बर्सातको समयमा तटीय क्षेत्रका नगरबासीले अपनाउनुपर्ने सावधानीका बारेमा पर्याप्त जनचेतना फैलाउन सकेमा जलउत्पन्न प्रकोपबाट बच्न र बचाउन सकिन्छ । काठमाडौँ उपत्यकाको हकमा मौसम पूर्वानुमान विभाग, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति, काठमाडौँ महानगरपालिका र विपत् न्यूनीकरण प्राधिकरण, गृह मन्त्रालय समेतको समन्वयपूर्ण कार्यसम्पादन हुन सकेमा बर्सातको समयमा उपत्यकावासी सुरक्षित रहने छन् ।