• २ साउन २०८२, शुक्रबार

रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २ गते । असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ । 

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज राखिने बताउनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । उहाँले राजदूत चेनसँग एकदमै सकारात्मक छलफल भएको बताउनुभयो । सचिव शर्माले भन्नुभयो, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खुलाउन र मितेरी पुल बनाउन राजदूतसँग अनुरोध गर्‍यौँ । राजदूतले दसैँअघि नै बेलिब्रिज राख्ने प्रयासमा छौँ भन्नुभयो ।’’ नाका खुलाउन र पुल बनाउन चिनियाँ पक्ष लागिराखेको सचिव शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माण, चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताउनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका नौ दिनदेखि ठप्प छ ।