सुर्खेत, साउन २ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गर्नुभएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रवार आयोजित कार्यक्रममा उपसभापति खड्काले लेकवेशी र भेरीगंगा नगरपालिकाका दुई ४७ जनालाई जग्गाधनी पुर्जा वितरण गर्नुभयो ।
पुर्जा वितरण कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्ने गरी छलफल चलिरहेको जानकारी दिनुभयो ।
उहाँले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिनुभयो ।
उपसभापति खड्काले जनतामा निराशा भन्दा पनि जिम्मेवारीमा रहेकाहरूसँग असन्तुष्टि रहेको उल्लेख गर्दै मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको धारणा राख्नु भयो ।
आफू उपप्रधानमन्त्री हुँद दुई सय प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको जानकारी दिँदै अहिले पनि मतदाताहरूमा राजस्व धेरै भयो भन्ने गुनासो छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा हामीले मतदातालाई बुझाउन सकेका छैनौँ । अहिलेको चुनौती राजनीतिक दलहरुका लागि यहीँ हो, जिम्मेवारीमा रहेकाहरू लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’’
उहाँले राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताउनुहुँदै भन्नुभयो, ‘‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरूले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ, कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टि बढेको हो कि भन्ने पनि ख्याल गरौँ ।’’
अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट गर्दै उपसभापति खड्काले भन्नुभयो, ‘‘प्रमुख दुई दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको छ, अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ, यहीँ गठबन्धनले २०८४ को निर्वाचन गराउँछ ।’’