पाण्डेय र गैरेबीच रोचक प्रतिस्पर्धा
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेय र ठाकुर गैरेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। डेढ वर्षअघिसम्म एउटै पार्टी नेकपा (एमाले)मा रहेका पाण्डेय र गैरेबीच यस पटक रोचक प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार गैरे विपक्षी गठबन्धनमा आबद्ध नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ भने पाण्डेय सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनुहुन्छ। गैरेलाई आफ्नै एमाले पार्टीको मजबुत सङ्गठनको दरिलो साथ रहेको छ। पाण्डेयलाई पनि गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतको दरिलो साथ छ। यसले पाल्पा क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक बनाएको छ।
सप्तरी–२ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिँदै
मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सप्तरीमा चुनावी सरगर्मी बढेको छ। विगतमा मत दिएर पनि आफूले चाहेको विकास र एजेन्डामा विजयी नेताबाट काम नहुँदा ठगिएको भन्दै मतदाताले यस पटक कुन पार्टी र राम्रो एजेन्डा बोकेका उम्मेवारलाई दिने भन्ने मनसाय बनाइसकेको छन्। बोल्न जान्ने र त्याग गर्न सक्ने नेता आफूहरूको चाहना रहेको महदेवा–६ का महेश मण्डल बताउनुहुन्छ।
पाँच दिन मदिरा कारोबार निषेध
मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।
अधिकांश पुराना प्रतिस्पर्धीबीच नयाँ प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ ।
अस्पताल शिलान्यास भयो निर्माण भएन
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैँचा–११, कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ। तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एकवटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालीन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभएको थियो । टेकु अस्पतालका तीन सय शøयाले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याबसहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर, अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ ।
निर्वाचन सुरक्षाको बन्दोबस्ती अन्तिम चरणमा
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन सुरक्षाअन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो। मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिनेछ।
त्रिपुण्डक टीका र गेरु पहिरनमा मतको अपिल
निधारमा त्रिपुण्डक टीका, गलामा गेरु रङको गलबन्दी । झट्ट हेर्दा कुनै हिन्दु पुजारीको झल्को दिने पहिरन तर उहाँ पुजारी नभई कास्की क्षेत्र नं. २ प्रदेश सभा (ख) का उम्मेदवार हुनुहुन्छ, अरुण गिरी । उहाँले यतिबेला यही हुलियामा आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न वडामा पुगेर मत माग्नुभएको छ ।
अर्गलका मगरको भुस पोल्ने मेला
बागलुङ जिल्लाको अर्गलका मगर समुदायले मनाउने भुस पोल्ने मेला यस वर्ष हर्षाेल्लासका साथ मनाइएको छ । भुस पोल्ने पर्वको नेतृत्व अर्गल संस्कृति संवद्र्धन समितिले गरेको हो । तारा खोला गाउँपालिका–२, अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो । तारा खोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शङ्खु बारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने चलन छ । अर्गलका वडाध्यक्ष भद्रबहादुर घर्तीका अनुसार स्थानीय बूढापाकाले बारीमा जौ छरेपछि युवकयुवतीले बारी खन्ने गर्छन् । २४ गते अर्गलको शङ्खु बारीमा आगो बालेको धुवाँ देखेपछि तारा खोलामा भुस पोल्ने चलन छ । सो पर्वमा भुसका रूपमा बर्खेबाली मकै, कोदोको डाँठ पोल्ने गरिन्छ ।
उम्मेदवार नदेखेको गाउँ महजिदिया
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन। गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।