• १५ असार २०८१, शनिबार

अर्गलका मगरको भुस पोल्ने मेला

blog

नवीनशिशिर विक

बागलुङ, कात्तिक २८ गते । बागलुङ जिल्लाको अर्गलका मगर समुदायले मनाउने भुस पोल्ने मेला यस वर्ष हर्षाेल्लासका साथ मनाइएको छ । भुस पोल्ने पर्वको नेतृत्व अर्गल संस्कृति संवद्र्धन समितिले गरेको हो । तारा खोला गाउँपालिका–२, अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो । तारा खोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शङ्खु बारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने चलन छ । 

अर्गलका वडाध्यक्ष भद्रबहादुर घर्तीका अनुसार स्थानीय बूढापाकाले बारीमा जौ छरेपछि युवकयुवतीले बारी खन्ने गर्छन् । २४ गते अर्गलको शङ्खु बारीमा आगो बालेको धुवाँ देखेपछि तारा खोलामा भुस पोल्ने चलन छ । सो पर्वमा भुसका रूपमा बर्खेबाली मकै, कोदोको डाँठ पोल्ने गरिन्छ ।

त्यस्तै २६ गते साँझको डाँडामाथि घाम पुग्दा अर्गल, रातको १२ बजेतिर हिल र २७ गते बिहान मात्र तारा खोलामा छापो खन्ने चलन छ । मगर समुदाय सिकारी युगदेखि कृषि युगमा प्रवेश गरेको सम्झनामा पर्व मनाउने चलन गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । यस्तै खोला क्षेत्रका मगर समुदायले २६ गतेलाई बर्खी फाल्ने (पितृको दुःख) दिनका रूपमा मनाउने गर्छन् । पढेलेखेका युवापुस्ता बर्खी फाल्नकै लागि वर्षभरि घर बस्न नसक्ने र शोकमा परेको परिवारले आफ्नो इच्छाअनुसार हरेक महिनाको २६ गते दुःख फाल्न सक्ने गरी संस्कारमा परिवर्तन गरिएको छ । छापो खन्न अविवाहित युवकयुवती सहभागी हुने चलन छ । युवालाई कृषिमा आकर्षित गर्नुका साथै पारिवारिक जिम्मेवारीका लागि परिपक्व भएको अनुभूति गराउनका लागि उनीहरूकै सहभागी अनिवार्य हुने गरेको छ ।