अविनाश चौधरी
धनगढी, वैशाख १० गते । नेपाल वितरक महासंघको १४ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको आर्थिक हब धनगढीमा हुने भएको छ ।
महासंघले पहिलो पटक आफ्नो साधारणसभा सुदूरपश्चिममा गर्न लागेको हो । स्वदेशमा उत्पादितदेखि लिएर विदेशबाट आयातित दैनिक उपभोग्यका वस्तुहरु बिक्री वितरण गर्दैआएको देशैभरिका वितरकहरुको छाता संगठन रहेको महासंघले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यहाँ साधारणसभा आयोजना गर्न लागेको जनाइएको छ ।
साधारणसभा वैशाख ११ र १२ गते दुई दिनसम्म आयोजना हुने महासंघले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नजिर मियाँले गर्नुहुने महासंघका अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो ।
साधारण सभामा देशैभरिबाट ३०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । साधारण सभाको तयारी पूरा भएको जनाइएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण वितरक व्यवसायीहरुले खेपिरहेको समस्या लगायतका विषयमा साधारण सभामा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मूल्य वृद्धिले सबैभन्दा बढी समस्या वितरक व्यवसायीहरुले भोगिरहेको अध्यक्ष गौतमले बताउनुभयो । “पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भए पनि हामीले सामान पु¥याउनै पर्ने बाध्यता छ” उहाँले भन्नुभयो, “सबैभन्दा बढी समस्या हामीले भोगिरहेका छौं ।” अध्यक्ष गौतमले इन्धनको मूल्य बढे पनि आफूहरुले ढुवानीको मूल्य वृद्धि नगरेको स्पष्ट पार्नुभयो ।