• १५ असार २०८१, शनिबार

चुनावी एजेन्डामा ‘चार लेन’ सडक

blog

लीलाधर वली

घोराही, कात्तिक २९ गते । घोराही–तुलसीपुर ‘फोरलेन’ सडक दाङ जिल्लाको विकास तथा समृद्धिका लागि महत्वपूर्ण विकास योजना हो। सडक तथा पूर्वाधार विकास योजनाअन्तर्गत सडक विस्तारले विकास निर्माणमा महìवपूर्ण सहयोग पुग्ने अपेक्षा जिल्लावासीको छ। 

त्यही अपेक्षाअनुसार जिल्लामा हुने विकाससम्बन्धी कार्यक्रम तथा निर्वाचनका बेला घोराही–तुलसीपुर तथा घोराही–लमही ‘चार लेन’ सडक विस्तारको कुरा जोडतोडले उठ्ने गरेको छ।

स्थानीय तहदेखि प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनसम्म यही कुरा उठ्ने गरेको छ। घोराही–तुलसीपुर चार लेन सडक विस्तारको काम ३६ महिनामा सक्ने गरी २०७५ साल पुस १५ गते सम्झौता भएको थियो। निर्माण व्यवसायीको लापरबाहीका कारण पाँच वर्ष बितिसक्दा समेत सडक विस्तारको काम हुन सकेको छैन। 

निर्माण व्यवसायीले काम नगर्दा घोराही उपमहानगरपालिका–३, कुइरेपानीदेखि–तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब १४.४६ किलोमिटर चार लेन र १३.७३ किलोमिटर दुई लेन सडक विस्तारको काम अलपत्र परेको छ। 

लामो समयसम्म सडक विस्तारले पूर्णता नपाउँदा उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्नुका साथै पाँच वर्षको अवधिमा २३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कले देखाउँछ। यस विषयप्रति नेताहरूले चासो नदिएको घोराहीका मतदाता घनश्याम डाँगी बताउनुहुन्छ। 

निर्वाचनका बेला पहल गर्छौं भन्ने तर जितेपछि भुल्ने नेताहरूको प्रवृत्तिका कारण दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने सडक विस्तारको काम वर्षांैसम्म अलपत्र परेको जनगुनासो छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनका उम्मेदवारले दुई वर्षभित्रमा सडक बनाउने प्रतिबद्धता जनाएका छन्। नेकपा (एमाले) सडक विस्तार छिटो छरितोमा जोड दिए पनि प्रतिबद्धता जनाएको छैन।

एक करोड २१ लाख ८२ हजार अमेरिकी डलरको लागतमा सडक निर्माणको जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रालिले सडक निर्माणको जिम्मा अन्य पेटी ठेकेदारलाई दिएको छ। निर्माण कम्पनीका अनुसार बबई नदीदेखि–कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म तीन किलोमिटर र खैरादेखि दुधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको चार किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म दुई किलोमिटर र दुधरासदेखि तुलसीपुरसम्मको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चार लेन बनाइने सम्झौतामा उल्लेख छ।