• १० वैशाख २०८३, बिहिबार

जमुनाहा नाकामा कडाइपछि भन्सार बढ्यो : स्थानीय बजारमा चहलपहल

blog

जमुनाहा नाकामा कडाइ गरिएपछि भन्सार राजस्व तिरेर सामान ल्याउँदै गरेका यात्रु । तस्बिर: सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख १० गते । नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा भारतबाट सामान आयातमा कडाइ गरिएसँगै भन्सार यात्रु शाखाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयले गत वैशाख ४ गतेदेखि १०० रुपियाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार राजस्व तिर्नुपर्ने नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेपछि राजस्वमा सुधार आएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार सामान्य सामान खरिदका लागि पनि सीमापारि जाने प्रवृत्तिलाई निरुत्साहित गर्न नाकामा कडाइ गरिएको हो । उहाँले भन्नुभयो, "पहिले यात्रु शाखामा दैनिक दुई लाखदेखि दुई लाख ७५ हजार रुपियाँसम्म राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक तीन लाख ६० हजार रुपियाँसम्म संकलन हुन थालेको छ ।" यसले राजस्व वृद्धिका साथै स्वदेशी व्यापारलाई समेत टेवा पुग्ने उहाँको विश्वास छ ।

यता, नेपालगन्ज उद्योग वाणिज्य संघले नाकामा गरिएको कडाइका कारण नेपाली उपभोक्ताहरू सीमापारि जाने क्रम घटेको र नेपालगन्ज तथा कोहलपुर लगायतका स्थानीय बजार चलायमान हुन थालेको जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले स्थानीय बजारमा चहलपहल बढेको बताउँदै अब बजार अनुगमनलाई तीव्र पारी कालोबजारी र अत्यधिक मुनाफा लिने प्रवृत्तिमाथि नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नाकामा कडाइ गरिएसँगै अब स्थानीय बजारमा समेत व्यापारीहरूको निगरानी बढाइने जानकारी दिनुभयो । सीमामा कडाइ भएपछि भारतीय बजार रुपैडिहामा नेपाली ग्राहकको संख्या घटेको छ भने त्यहाँका व्यापारीहरूले समेत यसको प्रभाव महसुस गर्न थालेका छन् ।

यद्यपि, नेपाल र भारत दुवै देशका सर्वसाधारणले भने १०० रुपियाँको सीमा निकै पुरानो भएको गुनासो गरेका छन् । पाँच दशकअघिको सो सीमालाई परिमार्जन गरी कम्तीमा पाँच हजार रुपियाँ कायम गर्नुपर्ने माग उपभोक्ताहरूको रहेको छ ।