• १३ असोज २०८१, आइतबार

सप्तरी–२ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिँदै

blog

ललिता साह 

बोदेबर्साइन (सप्तरी), कात्तिक २९ गते । मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सप्तरीमा चुनावी सरगर्मी बढेको छ। 

विगतमा मत दिएर पनि आफूले चाहेको विकास र एजेन्डामा विजयी नेताबाट काम नहुँदा ठगिएको भन्दै मतदाताले यस पटक कुन पार्टी र राम्रो एजेन्डा बोकेका उम्मेवारलाई दिने भन्ने मनसाय बनाइसकेको छन्। बोल्न जान्ने र त्याग गर्न सक्ने नेता आफूहरूको चाहना रहेको महदेवा–६ का महेश मण्डल बताउनुहुन्छ।

सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा मुख्यतः त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। जनता समाजवादी पार्टीका अध्यक्ष एवं नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुरले आफ्नो जित सुनिश्चित भएको ठोकुवा गर्दै आउनुभएको छ।

“मैले विगतमा पनि निर्वाचन लडेर हारेको छु। मेरो व्यक्तिगत लगानीमा यहाँका सयौँ जनतालाई रोजगारी दिएको छु। शैक्षिक हबका रूपमा विकास गर्ने मेरो पहिलो एजेन्डा छ। मेरो ठोस विकासीय एजेन्डा र गठबन्धनको इमानदारीले यसपालीको निर्वाचनमा मतदाताले मत दिएर जिताउनेमा विश्वस्त छु,” लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुर भन्नुहुन्छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूलाई सप्तरीका जनताले अथाह प्रेम गरेर विगतमा पनि जिताएकै र पाँच वर्षमा गरेका दीर्घकालीन विकासका केही अधुरा काम पूरा गर्न र स्वर्णिम भविष्यका लागि यहाँका मतदाताले मत दिनेमा आफू ढुक्क रहेको बताउनुहुन्छ।

पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जिल्लाका विकासीय कामहरूलाई चुनावी घोषणापत्रको प्राथमिकतामा राख्नुभएको छ। 

राइट टु रिकल (प्रत्याह्वान) र राइट टु रिजेक्ट (अस्वीकार) तथा मधेश प्रदेशकै एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपालकै पुरानो तथा चर्चित ‘ल’ कलेजदेखि जिल्लाका स्वास्थ्य शिक्षा रोजगार मात्रै नभई पत्रकारितासमेतलाई उत्कृष्ट विकासको नमुना बनाउनेलगायत विकासका एजेन्डाहरू उम्मेदवारले अघि सारेका छन्।

व्यावसायिक ऋणमा सहुलियत, व्यापारिक ओसारपसारमा नीतिगत सुधार, उद्योगधन्दा सञ्चालनमा ठोस एजेन्डा बोकेर आउने नेतालाई सप्तरीका उद्योगी व्यवसायीको मत जाने उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो।