• १३ असोज २०८१, आइतबार

निर्वाचन सुरक्षाको बन्दोबस्ती अन्तिम चरणमा

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक २८ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन सुरक्षाअन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो। 

मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिनेछ। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार नेपाल प्रहरीको दुई हजार ८४ जना, म्यादी प्रहरी तीन हजार ६१६ जना, सशस्त्रको सात सय र नेपाली सेना छ सय जना परिचालन गरिनेछ। नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा, त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिरी पेरिफेरिमा नेपाली सेनाको टोली परिचालन हुनेछ। 

मोरङमा नेपाल प्रहरीले मोरङका छ सङ्घीय निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्ड मोबाइल टोली परिचालन गर्नेछ। त्यस्तै १२ वटा प्रदेश सभा सदस्य निर्वाचनमा प्रहरी निरीक्षकको कमान्डमा ३६ वटा मोबाइल टोली परिचालन गर्ने तयारी गरेको छ। प्रत्येक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रभर प्रहरी नायब उपरीक्षकको टोली खटिने भएको छ। यसैगरी एक प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको कमान्डमा रहेका तीनवटा मोबाइल टोली परिचालन गरिने भएको छ। 

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा थप फोर्सलाई मौज्दातमा राखिनेछ। मोबाइल टोलीले अति संवेदनशील मतदान केन्द्रलाई ध्यानमा राखेर तत्काल ‘रेस्पोन्स’ टिमका रूपमा काम गर्नेछ। 

मोरङमा ५० अति संवेदनशीलमा मतदान केन्द्रमा सूचीकृत गरिएको छ। यसैगरी १४४ संवेदनशील र ११२ सामान्यमा सूचीकृत गरिएको छ। यीमध्ये विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका नौवटा स्थल, रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी गाउँपालिकाका मतदान स्थललाई संवेदनशीलमा राखिएको छ। 

मतदान अधिकृतलाई तालिम

मोरङमा निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा खटिएका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार हालसम्म १ र ३ क्षेत्रको सम्पन्न भइसकेको छ। आइतबार २ नम्बर निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायकलाई उनीहरूको काम, कर्तव्य र अधिकारको विषयमा जानकारी गराइएको छ। ४, ५ र ६ नम्बर क्षेत्र विराटनगरसँग जोडिएकाले त्यहाँ सोमबारदेखि कार्यक्रम राखिएको छ।