विजयकुमार साह
ढल्केबर, वैशाख १० गते । आर्थिक अनियमितता तथा वन दोहनमा संलग्न भएको आरोप लगाउँदै डिभिजन वन कार्यालय रौतहटका डिभिजन वन प्रमुख हेमन्त शाहविरुद्ध कारबाहीको माग गरिएको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिलकुमार यादवले वन तथा वातावरण मन्त्रालय, जनकपुरधाममार्फत मुख्यमन्त्रीलाई सम्बोधन गर्दै उजुरी दर्ता गराउनुभएको हो ।
उजुरीमा वन प्रमुख शाहमाथि सरकारी वन स्रोतको दुरुपयोग गरेको, मिलेमतोमा काठ बिक्री गरेको, सामुदायिक वनको रकम अपचलन गरेको तथा काठ तस्करहरूलाई संरक्षण दिएको जस्ता गम्भीर आरोपहरू लगाइएको छ ।
उजुरी पत्रका अनुसार, सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियतमा उपलब्ध गराउनुपर्ने काठ नगराई फर्निचर उद्योग सञ्चालकहरूसँग गोप्य सहकार्य गरी कम मूल्यमा बिक्री गरिएको दाबी गरिएको छ । साथै, काठ कारोबारमा प्रतिफिट कमिसन लिने गरेको आरोपसमेत उल्लेख छ ।
त्यसैगरी, सामुदायिक तथा साझेदारी वनको दिगो व्यवस्थापनका लागि छुट्याइएको करिब २० लाख रुपैयाँ अनियमित रूपमा फिर्ता लिएर दुरुपयोग गरेको दाबी उजुरीमा गरिएको छ । गैँडाटार क्षेत्रमा करिब पाँच हेक्टर वन फँडानी गरी आर्थिक लाभ लिएको र त्यसको प्रमाण मेटाउन वृक्षारोपण गरिएको तथा कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट गर्न नियोजित रूपमा आगजनी गराइएको जस्ता गम्भीर विषयहरू उजुरीमा उठाइएको छ ।
वन क्षेत्रमा व्यापक तस्करी र अवैध फँडानी भइरहँदा पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको भन्दै उजुरीकर्ता यादवले मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ । उहाँले चुरे क्षेत्रमा क्रसर उद्योगहरूबाट भइरहेको दोहनप्रति समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।