• १३ असोज २०८१, आइतबार

अस्पताल शिलान्यास भयो निर्माण भएन

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक २८ गते । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैँचा–११, कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ। तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एकवटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरेपछि २०७७ माघ १९ गते तत्कालीन मन्त्री ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभएको थियो । टेकु अस्पतालका तीन सय शøयाले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याबसहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर, अस्पतालको शिलान्यास गर्ने ठाउँमा अहिले तोरी उम्रिन थालेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले भन्नुभयो, “अस्पतालको शिलान्यास गर्ने भनेपछि पाक्न लागेको तोरी काटेर ठाउँ खाली गरिदिएको थिएँ । तर, त्यसपछि छ बाली लगाएर उत्पादन लिइसकेँ । तर, न त ठेकेदार आए । न बीपी प्रतिष्ठान र प्रदेश सरकारका प्रतिनिधि आए ।” उहाँले अस्पताल शिलान्यास भएपछि वर्षौंदेखि बिक्री नभएको शिलान्यास भएको छेउछाउको जग्गा पलटिङवालाहरूले बिक्री गरेको बताउनुभयो। जसले अस्पताल बन्ने सम्भावना देखेर घडेरी किनेका थिए। उनीहरू अहिले पछुताइरहेका छन्। 

अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा वर्षौंदेखि सुकुम्बासी बनेर बसिरहेका परिवार पनि खुसी थिए। उनीहरूलाई मन्त्री ढकाल, बीपी प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीलगायतले अन्यत्र घरबासको व्यवस्था मिलाउने आश्वासन दिनुभएको थियो। तर, न अस्पताल बन्यो, न अन्यत्र घरबासको टुङ्गो लाग्यो। 

अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा आठ करोड रुपियाँ विनियोजन भएको बताइएको थियो। २५ करोड रुपियाँमा बन्ने अस्पताल ढकालले आफू मन्त्री रहे पनि नरहे पनि निर्माणमा ढुक्क रहन आश्वासन दिनुभएको थियो।