भूकम्पको उच्च जोखिममा पुराना बस्ती
नेपालगञ्जका पुराना सहरी बस्तीहरू भूकम्पको उच्च जोखिममा छन्। पछिल्लो पटक गरिएको एक सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र अत्यधिक जोखिममा रहेको देखाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तयार गरेको सर्वेक्षण प्रतिवेदनले उपमहानगरका बढी जनघनत्व भएका र पुराना बस्तीहरू अत्यधिक जोखिममा रहको देखाएको हो।
भोटको आस समस्याको त्रास
बागलुङ नगरपालिका–१, खनियाँबासको एकीकृत माझी बस्तीमा ४० भन्दा बढी मत सङ्ख्या रहेको छ। एउटै बस्तीमा यति धेरै मत हुँदा पनि राजनीतिक दल र उम्मेदवारको चासो बढ्नु तथा मतदाता आफ्नो पक्षमा पार्नु स्वाभाविक हो।
सुर्खेतमा चुनावी सरगर्मी
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुँदै छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार क्षेत्र रहेका छन्। सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल भएको थियो। सो निर्वाचनमा खड्का नेकपा (एमाले)का धु्रवकुमार शाहीसँग तीन हजार मतान्तरले पराजित हुनुभएको थियो।
निर्वाचनले नचिनेको राउटे बस्ती
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको माहोलले गाउँको वातावरण तात्तिँदै गएको छ। मत माग्न गाउँबस्तीमा उम्मेदवार पुगिरहँदा राउटे बस्ती सुनसान छ। फिरन्ते समुदाय राउटे यतिबेला दैलेखको नारायण नगरपालिका–८, लोहोरे सालखर्कमा किनारमा बसेका छन्।
उम्मेदवार चिल्लो गाडीमा मतदाता त्रिपालमुनि
निर्वाचनका बेला उम्मेदवार चिल्लो गाडीमा माइक जोडेर मीठामीठा चुनावी गीत बजाउँदै गाउँगाउँमा भोट माग्दै हिँडिरहेका बेला बैतडीका केही मतदाता त्रिपालमुनि रात बिताउँदै आइरहेका छन्। बैतडीको दुर्गम सिगास गाउँपालिकाका–९ का कैलाश धामीले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। गाउँमा बस्ने घर नहुँदा उहाँ परिवारसहित भारतको पिथौरागढमा लामो समय ज्याला मजदुरी गरेर बस्नुभयो। भारतमै तीन छोराछोरी जन्मे। कोरोनापछि स्वदेश फर्किनुभएका उहाँसँग बस्ने घर नहुँदा त्रिपालमुनि रात बिताउँदै आइरहनुभएको छ।
अलैँची खेतीमा आकर्षण
कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिकाका किसान अलैँची खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अलैँची सुपर जोन घोषणा गरेर विभिन्न प्राविधिक तथा आर्थिक सहयोग गर्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
दाङमा प्रतिस्पर्धा रोचक बन्दै
निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ ।
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
पूर्ववनमन्त्रीबीच प्रतिस्पर्धा
तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, निर्वाचनको परिणाम हात पार्ने सम्भावित दुई जना उम्मेदवारबीच भने रोचक प्रसङ्ग छ । उहाँहरू हुनुहुन्छ, वाम तथा लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका किरण गुरुङ । उहाँहरू दुवै जना सङ्घीय सरकारका पूर्ववनमन्त्री हुनुहुन्छ ।