• १३ असोज २०८१, आइतबार

सीमा क्षेत्रका मतदाता भन्छन् सुरक्षा र विकास दिनेलाई भोट

blog

दिवाकर पोख्रेल

देउखुरी, कात्तिक २७ गते ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले सुरक्षा र विकासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन्। 

चुनावी प्रचारप्रसारका लागि सीमा क्षेत्रका बस्ती पुगेका उम्मेदवारसँग सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सीमा शान्तिसुरक्षा नभएको गुनासो पोख्दै नागरिक सुरक्षा र विकासमा विशेष योजना ल्याउने उम्मेदवारलाई भोट दिने बताउँछन्। 

मत माग्नका लागि नाका क्षेत्रमा पुगेका वाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूसँग मतदाताले यस्तो आग्रह गरेका हुन्। उम्मेदवारलाई नाका क्षेत्रको विकासलाई प्राथमिकताका साथ योजना बनाउन आग्रह गरेका हुन्। दाङको राजपुर गाउँपालिका–६, बैरवा नाकाकी ३० वर्षीया मनी घर्तीले सीमा क्षेत्रका महिलाले पटक–पटक भारतीय नागरिकबाट दुव्र्यवहार खेप्नुपरेको दुखेसो पोख्दै नागरिक सुरक्षामा विशेष ध्यान दिन उम्मेदवारसँग आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, “हाम्रो नाका क्षेत्रको बसाइ उम्मेदवार आफैँ आएर बुझ्नुभएको छ, विकाससँगै हामीलाई सुरक्षा चाहियो भनेर जोडदार माग गरेका छाैँ।” नाका क्षेत्रका जानकार राजपुर गाउँपालिका–७ का भीमबहादुर ओलीले दाङको नाका क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। 

उहाँ भन्नुहुन्छ, “हामी यस क्षेत्रका प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारसँग नाकाको गुरुयोजना बनाउन माग गरिरहेका छौँ, यस क्षेत्रको प्रमुख समस्या सुरक्षा र सडक हो। मतदाताले प्रत्येक निर्वाचनमा उम्मेदवारले नाकालाई प्राथमिकतामा राखे पनि विजयी भएपछि नाकामा फर्केर जाँदैनन्।”

दलका उम्मेदवारले पनि नाका क्षेत्रका मतदाताको समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन्। सहरी विकासमन्त्री तथा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार मेटमणि चौधरीले नाका क्षेत्रको विकासमा आफ्नो जिम्मेवारी र भूमिका बढ्न थालेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “नाकाको सबै समस्या बुझेको छु, यहाँका नागरिकको सुरक्षा, सीमा सडक र समग्र नाका क्षेत्रको विकास मेरो पहिलो प्राथमिकता हो।” यस्तै नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार शान्ता चौधरीले नाका क्षेत्रको विकासको बारेमा आफूले दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।