• १५ असार २०८१, शनिबार

दाङमा प्रतिस्पर्धा रोचक बन्दै

blog

लीलाधर वली

घोराही, कात्तिक २७ गते । निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ । राष्ट्रिय राजनीतिमा स्थापित पुरुष उम्मेदवारहरुसँग मुख्य प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार हुनुहुन्छ ।

पूर्वसहकर्मी मैदानमा 

दाङ क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणि चौधरी दोस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सङ्घीय सरकारका बहालवाला सहरी विकास मन्त्रीसमेत रहनुभएका मेटमणि २०७४ सालमा एमालेबाट निर्वाचन जितेर सांसद बन्नुभएको थियो । एमालेले मेटमणिका विरुद्धमा शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराएर संसद् बन्नुभएका मेटमणि अहिले मन्त्री हुनुहुन्छ । उहाँले आफ्ना पूर्वसहकर्मी शान्तासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शान्ताले गत निर्वाचनमा मेटमणिलाई सघाउनुभएको थियो । मन्त्री चौधरीले संविधान निर्माणसँगै आफ्नो क्षेत्रमा विकास निर्माणको काम गरेकाले जनताले जिताउने दाबी गर्नुभयो । 

२०६४ र २०७४ सालमा समानुपातिक सांसद बन्नुभएकी शान्ता २०७० सालमा दाङ क्षेत्र नं. २ मा कांग्रेसकी उम्मेदवार सुशीला चौधरीसँग पराजित हुनुभएको थियो । प्रतिनिधि सभामा एमालेको सचेतकको भूमिकासमेत निर्वाह गरिसक्नुभएकी चौधरीले एमालेले लिएको राष्ट्रवादी नीतिसँगै जिल्लाको विकासका लागि निर्वाह गरेको भूमिका कारण निर्वाचनमा मतदताले आपूmलाई विजयी गराउने बताउनुभयो । यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले दुई/दुईवटा प्रमुख जितेका थिए । स्थानीय तह निर्वाचनका आधारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्षहरूले प्राप्त गरेको मत ५० हजार ३६७ तथा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको मत २७ हजार २५ थियो । 

रोचक रस्साकसी 

तीनवटा निर्वाचन क्षेत्रमध्ये यस पटक सबैको ध्यान क्षेत्र नं. २ मा छ । यस क्षेत्रबाट एमाले महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल निर्वाचन जितेर दोस्रो पटक सङ्घीय संसद् बन्ने प्रयासमा हुनुहुन्छ । २०५१ सालमा दाङ क्षेत्र नं. २ बाट कांग्रेसका दीपक गिरीलाई हराएर पहिलो पटक सांसद बन्नुभएका पोखरेल २०५६ सालमा त्यही क्षेत्रमा कांग्रेसका उम्मेदवार कृष्णकिशोर घिमिरेसँग पराजित हुनुभएको थियो । 

२०६४ मा समानुपातिक सांसद बन्नुभएका पोख्रेल २०७० सालमा दोस्रो पटक दाङ क्षेत्र नं. ४ मा कांग्रेसकै उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित हुनुभयो । त्यसपछि २०७४ सलामा दाङ क्षेत्र नं. २ (क)बाट बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्नुभएको थियो । अघिल्लो पटक एमाले–माओवादीको गठबन्धनबाट प्रदेश सभा सदस्य बन्नुभएका पोखरेल अहिले प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ सालमा गठबन्धन गरेको नेकपा माओवादीसँगै आफ्नै पार्टीको एउटा समूह अहिले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी रेखा शर्मालाई साथ छ ।  

दुई पटक प्रतिनिधि सभा सदस्यसमेत बन्नुभएकी शर्मा एक पटक मन्त्रीसमेत बन्नुभएको थियो । शर्मा २०७० मा समानुपातिक सांसद भएर सामान्य प्रशासनमन्त्री हुनुभएको थियो । २०७४ सालमा पनि समानुपातिक सांसद बन्नुभएकी शर्मा दाङ क्षेत्र नं. २ बाट पहिलो पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिनुभएको छ । दाङ क्षेत्र नं. २ मा पर्ने घोराही उपमहानगरपालिका एमालेले जितेको छ। बङ्गलाचुली माओवादी र कांग्रेस गठबन्धनले जितेको छ। एक लाख ३३ हजार मतदाता रहेको क्षेत्र नं. २ मा गत वैशाख ३० गते भएको स्थानीय तहमा कांग्रेस र माओवादीका वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा एमालेभन्दा सत्ता गठबन्धन अगाडि छ । गठबन्धनका दलहरूको कुल मत ३६ हजार ७२१ छ भने एमालेको ३३ हजार ५९३ रहेको थियो ।

गिरी–वली टक्कर 

दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी र गायिका कोमल वलीबीच प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नं. ३ अन्तर्गत पर्ने चारवटा स्थानीय तहमध्ये कांग्रेसले बबई गाउँपालिका, दङ्गीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा जित हासिल गरेको थियो । एमालेले तुलसीपुर उपमहानगरपालिकामा मात्रै जितेको थियो । 

२०७० सालमा एमालेका स्वर्गीय उत्तरकुमार वलीलाई पराजित गिरी संसद् बन्नुभएका गिरी सिँचाइमन्त्रीसमेत बन्नुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनमा एमाले–माओवादीका उम्मेदवार हीराचन्द्र केसीसँग पराजित हुनुभएको थियो। २०५१ सालमा एमालेका महासचिव शङ्कर पोख्रेलसँग पहिलो पटक प्रतिस्पर्धा गरेर पराजित हुनुभएका गिरीलाई २०६४ मा माओवादीबाट उम्मेदवार बन्नुभएकी सुष्मा शर्मा घिमिरेले हराउनुभएको थियो । 

यस्तै राप्रपाबाट एमालेमा प्रवेश गरी राष्ट्रिय सभा सदस्य बन्नुभएकी गायिका कोमल वली पहिलो पटक गिरीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । राजनीतिभन्दा लामो समय गीतसङ्गीत र रेडियो नेपालमा समाचार वाचन गरेर जनतामाझ परिचित वलीले जनताले आफूलाई विश्वास गर्ने बताउनुभयो । क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट स्थानीय तहमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ । एमालेका वडाध्यक्षहरूले ३६ हजार ५०९ मत ल्याएका थिए ।