• १६ असार २०८२, सोमबार

धनगढीमा दुई सय मिलिमिटर वर्षा, ठाउँ ठाउँमा डुबान

blog

भारी वर्षापछि जलमग्न धनगढी । तस्बिरः सौरभ राना, हेमा सिंह

प्रकाशविक्रम शाह

धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो । 

धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भन्नुभयो, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।” 


उहाँका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ । 

महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ । 


वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।