अविनाश चौधरी
धनगढी, असार १५ गते । कैलालीको कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयको २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा लज्जास्पद् आएको छ ।
सो पालिकाबाट एसइईमा सहभागी नौ विद्यालयका १० प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन् । ९० प्रतिशत विद्यार्थी ननग्रेडेड (फेल) भएको कैलारी गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । शाखा प्रमुख गणेशप्रसाद मिश्रका अनुसार ४०२ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ४१ जना मात्र ग्रेडेड भएका छन् ।
दिपेन्द्र मावि हसुलियाको ५२ परीक्षार्थीमध्ये १६, राष्ट्रिय माविको ८१ परीक्षार्थीमध्ये आठ, जनकल्याण मावि पवेराको ५६ परीक्षार्थीमध्ये एक, सरस्वती मावि खरुवाखेराको ३८ परीक्षार्थीमध्ये दुई जना मात्र ग्रेडेड भएका छन् ।
यस्तै, जानकी मावि बनकट्टाको २५ परीक्षार्थीमध्ये तीन, लक्ष्मीमावि पृथ्वीपुरको ४३ परीक्षार्थीमध्ये चार र जनतामावि गदरियाको ५० परीक्षार्थीमध्ये छ जना ग्रेडेड भएका छन् ।
राष्ट्रिय मावि भुईयाफाँटा भने लगातार दोस्रो पटक निल भएको छ । सो विद्यालयबाट २०८१ को एसइई परीक्षामा २४ जना विद्यार्थी सामेल भएका थिए । गतवर्ष पनि यो विद्यालयको एसइई नतिजा शून्य रहेको थियो ।
शैक्षिक सुधारको सक्दो प्रयासका बाबजुद पनि लगातार दोस्रो पटक नतिजा निल आउनु ठुलो चिन्ताको विषय रहेको राष्ट्रिय मावि भुईयाँफाँटाका प्रधानाध्यापक रामकुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष निल भएपछि हामीले यस पटक छानेर २४ मध्ये १५ जनालाई मात्र एसइईमा सहभागी गराएका थियौं । सबैलाई निःशुल्क कोचिङ पढाएका थियौं । तर, परिणाम फेरि निल आयो ।”
नजिता निल आउनुमा एउटै पक्षको मात्रै कमी कमजोरी नरहेको उल्लेख गर्दै प्रअ चौधरीले भन्नुभयो, “शिक्षकले पढाउनकै लागि मात्र पढाए । विद्यार्थीले पढ्नकै लागि मात्रै पढे । विद्यालय व्यवस्थापन समिति र अभिभावकको वास्तै छैन । हामी सबैले धेरै सुधार गर्न आवश्यक छ ।” उहाँले विद्यालयको पठनपाठन नतिजामुखी हुन आवश्यक रहेको बताउनुभयो ।
शिक्षा शाखा प्रमुख गणेशप्रसाद जोशीले विद्यालयको नतिजा निल आउनुमा शिक्षकको मुख्य कमजोरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षकले नतिजामुखी भएर पठनपाठन गराउन सक्नुपर्छ । त्यसतर्फ ध्यान गएको छैन ।”
कैलारीमा निजी विद्यालयबाट एसइईमा सहभागी ६७ जनामध्ये ३० जना (४५ प्रतिशत) परीक्षार्थी ग्रेडेड भएका छन् ।