काठमाडौँ, असार १५ गते । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात गरेको छ ।
उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो ।
एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा सात गोल थपेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गर्नुभयो ।
यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले एक एक गोल थप्नुभयो । नेपालले एक गोल लाओसबाट उपहार पाएको थियो । साम्बाको प्रहार लाओसकी रक्षकलाई ठोक्किँदै गोलमा परिणत भएको थियो ।
नेपालले आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेलमा साम्बालाई कप्तानको जिम्मेवारी सुम्पदै सुखद नतिजा निकाल्न सफल भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिनुभएको हो ।
साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने ११औँ खेलाडी बन्नुभएको छ । प्रशिक्षक वाइल्डले यसअघिकी नियमित कप्तान एवं गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई लाओसविरुद्ध पहिलो रोजाईमा समेत राख्नुभएको थिएन ।
उहाँले एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई मौका दिनुभएको हो । प्रशिक्षक वाइल्डले पनि नेपालका लागि आफ्नो डेब्यु खेलमा सुखत नतिजा निकाल्न सफल हुनुभएको छ ।
छनोटमा नेपाल समूह ‘एफ’ को दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।