गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १६ गते । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ । साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम विश्लेषणले अबका दिनमा सम्भावित भीषण र अति भीषण वर्षा दोहोरिने दिनहरू बढी देखाइरहेको छ, त्यसैले सावधानी र सतर्कता दुवै अपनाउनुपर्ने देखिन्छ ।”
महाशाखाका अनुसार मनसुन नेपालमा बलियो बन्दै फैलँदै गएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वमा सरदर स्थानमा र पश्चिममा दक्षिणतर्फ तेर्सिंदै उत्तरतर्फ पश्चिम नेपालको नजिक आइपुगेको छ । त्यसैले पनि नेपालको पश्चिमी भूभागमा शनिबार रातिदेखि साताको पहिलो तीन दिनमा अधिक वर्षा गराउँदै छ । बुधबारदेखि न्यूनचापीय रेखा पूर्वी नेपालको नजिक सर्ने भएकाले पूर्वदेखि मध्य नेपालमा अधिक वर्षा गराउने सम्भावना रहेको मानन्धरले जानकारी दिनुभयो । जसले बागमती, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा गराउने छ ।
महाशाखाका अनुसार शनिबार राति नै कतिपय स्थानमा भीषण वर्षा रेकर्ड भएको छ । विगत २४ घण्टामा सबैभन्दा बढी कर्णाली प्रदेशको सल्यानस्थित स्याउलीवाङमा १६३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यसपछि कञ्चनपुरको हनुमानगढीमा १२४ मिलिमिटर, दाङको गढवामा १२३ मिलिमिटर, कैलालीमा १२१ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मध्य नेपालमा पनि भीषण वर्षाको क्रम सुरु भएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको गोब्रे भन्ने स्थानमा १०६ मिलिमिटर र मानेखर्कमा ९१ मिलिमिटर वर्षा भएको छ ।
यो क्रम बुधबारपछि यस भेगमा थप बढोत्तरी हुने सम्भावना रहेकाले पूर्वसूचनाप्रति सतर्क रहँदै आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । विभागको सूचनालाई मध्यनजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लाले अधिक सावधानी अपनाउन अपिल गरेका छन् । लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा अति भीषण वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनिएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार अन्य पहाडी भूभागमा पनि भीषण वर्षाको सम्भावना उच्च रहेकाले सतर्क रहनु पर्छ ।
प्राधिकरणले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन सुझाएको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।