अमरराज नहर्की
तनहुँ, असार १६ गते । तनहुँमा नरभक्षी चितुवाको बिगबिगी नियन्त्रणमा आउन सकेको छैन । चितुवाको आक्रमणबाट जिल्लामा आठ वर्षमा १७ बालबालिकाको मृत्यु भएको भने २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास पालिकामा बढी प्रभावित छन् ।
चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ भने हाल बन्दीपुर गाउँपालिकामा आतङ्क बढेको छ । वि.सं. २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १२ बालक र पाँच बालिकाको गरी १७ बालबालिको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष आठकी सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष पाँचका सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ हुनुहुन्छ ।
यस्तैगरी, व्यास नगरपालिका–१२ छिर्कनका वर्ष आठ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।
त्यस्तै, भानु–४ की वर्ष चारकी रञ्जिता लम्साल, भानु–२ की वर्ष आठकी पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष सातका ऋतिक रोका मृत्यु भएको छ ।
यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष दुई का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष आठका पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ का नारायण रानाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङका छोरा ६ वर्षका उत्सव गुरुङ गत जेठ २६ गते मृत्यु भएको थियो । बन्दीपुरकै वडा नम्बर–५ याम्पाका १३ वर्षीय सुन्दर अछामीको २०८१ साल साउन ४ मृत्यु भएको थियो ।
यस्तै २०८१ साल चैत २९ गते इसुब विकको नौ वर्षको छोरी अनुजा बिकको मृत्यु भएको छ । बन्दीपुरमा एक वर्षको अवधिमा तीनको मृत्यु भएको हो ।
वन्यजन्तुको आक्रमणमा परेका १४ परिवारलाई एक करोड ४० लाख र २१ जना घाइते भएकालाई नौ लाख ४५ हजार पाँच सय २६ रुपियाँ उपचार खर्च प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । तीन जना मृत्यु भएकोकालाई ३० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मृत्यु भएमा १० लाख दिने व्यवस्था भएको र रकम निकास हुन बाँकी रहेकोले भुक्तानी दिन बाँकी रहेको श्रेष्ठले बताउनुभयो ।
चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणका लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २२ स्थान बाख्रासहितको पासो राखिएको छ ।