• २१ साउन २०८२, बुधबार

निजामतीमा व्यावसायिक विकास

blog

अहिले नेपालको निजामती सेवा र समग्र प्रशासनलाई कम व्यावसायिक भएको आरोप लागेको छ । बहुसिपयुक्त कर्मचारीको आवश्यकता भएको वर्तमान अवस्थामा कर्मचारीमा व्यावसायिकता विकास र उपयोग स्तर कम हुनु चुनौतीको कुरा हो । कर्मचारीमा सिप, क्षमता, स्वभाव र आत्मविश्वास विकास गरी सेवाग्राहीको अपेक्षा पूरा गर्न र नीति तथा कार्यक्रमलाई प्रभावकारी पार्न व्यावसायिक प्रशासन पहिलो शर्त हो । यसैको सापेक्षमा सुशासन र विकासको स्तर निर्धारण हुन्छ । सामान्य बुझाइमा सार्वजनिक प्रशासनमा व्यावसायिकता भन्नाले योग्यता (कार्यसम्पादनको सापेक्षिक सामथ्र्य), प्रवीणता, प्राविधिक सिपका आलावा सेवाग्राहीप्रतिको आदरभाव र सदाचारिताको योग हो । अझै छोटो अर्थमा योग्यता, सिप र दक्षताको जोड हो । 

व्यावसायिक प्रशासनका महìवलाई तीन आयाममा हेर्न सकिन्छ । पहिलो, व्यावसायिकता विकासले व्यक्ति आफ्नो पेसा वा वृत्तिको ओज, क्षमता र सिप बढाउँछ । दोस्रो, सङ्गठनले कार्यसम्पादन दक्षता हासिल गरी आफ्नो उद्देश्य पूरा गर्ने कार्यलाई संस्थागत गर्छ र तेस्रो, सेवाग्राही सर्वसाधारणले स्तरीय सेवा र असल व्यवहार प्राप्त गर्छन् । त्यसैले आधुनिक शासकीय व्यवस्थामा व्यावसायिकता विकास गर्ने कार्यले उच्च प्राथमिकता पाएको छ । व्यावसायिकता विकास मानव साधनमाथिको रणनीतिक लगानीका रूपमा लिन थालिएको छ । नेपालको सन्दर्भमा यी तिनै कुराको अभाव भएकाले सेवा प्रवाह आलोचित छ, नीति कार्यक्रम प्रभावकारी छैन र सरकार र जनताबिचको सम्बन्ध कमजोर छ ।

पेसागत अभिमुखीकरण (सामान्य ज्ञान), खास कार्यसम्पादनका लागि चाहिने ज्ञान (विशिष्टीकृत ज्ञान), दक्षता, इमानदारिता र सकारात्मकता, जवाफदेहिता, स्वयम् नियमन र पहिचान जस्ता पक्षहरूले सार्वजनिक प्रशासनलाई व्यावसायिक बनाउँछ । सामान्य ज्ञान प्रशासनिक मूल्य, सिद्धान्त र विधि व्यवस्थाको जानकारी हो । यसलाई सेवा प्रवेशको परीक्षण विधि, नियुक्तिपछिको अभिमुखीकरणबाट विकास गर्न सकिन्छ । विशिष्ट ज्ञान भने पदस्थापनका क्रममा प्राप्त जिम्मेवारीले माग गर्ने विशेष क्षमता हो । कार्यदक्षता जिम्मेवारी प्राप्त गरेपछि काम गर्ने सीप सामथ्र्य, कामप्रतिको आत्मिक निष्ठा र सेवाग्राहीकेन्द्रित स्वभाव हो । सामान्य र विशिष्ट ज्ञान प्राप्त गरेपछि कार्यसम्पादनको भूमिकामा रहँदा यो देखिने गर्छ । इमानदारिता र सकारात्मकता सेवा मूल्यप्रतिको निष्ठा हो । यसले अरूलाई सम्मान गर्ने, विश्वासिलो बन्ने र मूल्य मान्यताप्रति अटल रहने स्वभाव देखाउँछ । यो काम गर्नु पर्छ, काम गर्न सकिन्छ, कामबाहेक कर्मचारीको न धर्म छ न आचरण बन्ने सकारात्मक सोच हो । यसले कर्मचारीलाई जागिर (क्यारियर) भन्दा सेवा (सर्भिस) महत्वपूर्ण हो भन्ने अन्तरबोध गराउँछ ।

नेपालको निजामती सेवालाई लाग्दै आएको आरोपमध्ये एक हो ‘कम्पिटेन्ट बट ननपर्फर्मिङ सिभिल सर्भिस ।’ अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदनमा उल्लेख गरिँदै आएको छ ‘नेपालमा नीतिहरू त राम्रा बनेका छन् तर कार्यान्वयन हुँदैनन् ।’ नतिजामा नदेखिए क्षमताको कुनै महत्व रहँदैन । नतिजाको आधार काम हो, काम गर्न आफूले सम्पादन गर्नुपर्ने कामको जनकारी त चाहिन्छ नै, त्यसको अन्तर्य पनि बुझ्नु पर्छ । सतही रूपमा बुझिएका कुराले परिणाम पनि सतही नै ल्याउँछ । अवधारणा, सिद्धान्त, नीति, विधि र परिवेशको सम्पूर्णता नबुझे पदले व्यक्तिलाई र व्यक्तिले पदलाई न्याय गर्न सक्दैन । सेवाग्राही मर्कामा पर्छन् । कर्मचारीले जागिर खान्छ, कार्यालयले कर्मचारी पाउँछ । अहिलेको अवस्था करिब यस्तै छ । कर्मचारी वृत्तमा सकारात्मक सोच खस्किएको छ । कुनै कुरा प्रस्तुति र संवादमा आत्मविश्वास देखिँदैन । पढलेखा र एक्सपोजर पाएकाहरू प्रायोजित सेलिब्रेटी पनि बनेका छन् । जिम्मेवारी लिन भने हच्किने मनोवृत्ति छ । सेवाग्राहीमैत्री प्रस्तुति छैन । परिवर्तनप्रतिको अनुकूलन क्षमता घटेको छ । संवाद सिप र शिष्टता कमजोर छ । साथै आफैँले प्रयोग गरेको स्रोतसाधन र समयप्रति न्याय देखिँदैन । बुहसिपयुक्त र सधैँ जानिरहने  (एभर लर्निङ) कर्मचारीको माग छ तर प्रवर्तन तत्परता निकै खुम्चिएको छ ।

डेलेवर विश्वविद्यायलयका प्राध्यापक एवं नयाँ सार्वजनिक सेवाका प्रवर्तक रबर्ट डी डेनहार्ट पाँच कारण सार्वजनिक प्रशासनमा परिवर्तन, व्यावासायिकता र बहुसीपयुक्त क्षमता आवश्यक भएको देख्छन् । पहिलो, असाधारण रूपमा विष्फोट भइरहेको नयाँ ज्ञान, प्रविधि र अग्रसरता । दोस्रो, संस्थात्मक पुनर्संरचना । तेस्रो, बढ्दो अन्तरआबद्धता र विश्वव्यापीकरण । चौथो जनसङ्ख्या र सांस्कृतिक विविधता र पाँचौँ, परम्परागत विश्वासप्रति स्खलन । 

नेपालमा पनि सामाजिक सन्दर्भ, आन्तरिक माग र जनताको चेतनास्तरमा आएको परिवर्तनले ‘सुुविधामा रमाउने काममा लजाउने’ निजामती सेवा होइन आक्रामक निजामती सेवा चाहिएको छ । जान्ने भन्दा गर्ने, स्वयम् नियमित, धेरै गर्ने र जनताको भावना तत्काल सम्बोधन गर्ने क्षमताको कर्मचारी चाहिएको छ । अर्को अर्थमा व्यावसायिक निजामती प्रशासन चाहिएको छ । निजामती सेवालाई व्यावसायिक, क्षमतावान् र सधैँ जानिरहने र स्वयम् प्रेरित बनाउन सिलसिलेवार रूपमा केही कदम चालिनु आवश्यक हुन्छ । कर्मचारी व्यवस्थापनको पहिलो काम भर्ना छनोट हो । भर्ना छनोटको प्रक्रियामा जानकारीका साथ सिप र अभिरुचि पनि परीक्षण गरिएमा व्यक्ति र कामको सापेक्षिक सम्बन्ध हेर्न सकिन्छ । परीक्षण विधि उम्मेदवारको जानकारीको तहमा मात्र सीमित नराखी उसको स्वभाव, अभिरुचि र सिपको परीक्षण गर्न सक्षम बनाउनु पर्छ । अर्को अर्थमा योग्यता परीक्षणका नवीनतम विधिको उपयोग गर्नु पर्छ । 

सेवाभित्र प्रवेश गरेपछि निष्ठा र नैतिकताको अभिमुखीकरण गर्ने, निजामती सेवा वृत्ति विकास र राष्ट्र सेवाको दोहोरो अवसर भएको सेवा हो भन्ने भावना मन, मस्तिष्कमा सञ्चार गराउने कामहरू गरिनु पर्छ । प्रारम्भमा स्टाफ कलेजको तालीमलाई व्यापक र कार्यमूलक बनाउनु पर्छ । तालिममा प्रशासन सेवाका कर्मचारीको वर्चस्व छ, प्राविधिक सेवाका कर्मचारीहरूको पनि सामान्य ज्ञान जस्तै कार्यसम्पादनका मूल्य, विधि र प्रविधिका आयाममा तालिम दिनु आवश्यक छ । प्रशासनिक सेवाका कर्मचारीका लागि भने यसले विशिष्टीकृत तालिम पनि दिन सक्छ । वृत्ति र व्यवसायभन्दा सेवाभाव विकास गर्ने गरी सामाजिकीकरण र विकासका उपाय अभ्यासमा ल्याउनु पर्छ । आवश्यक स्थानमा क्षेत्रगत सघन तालीम कार्यक्रम सञ्चालन गर्न सकिन्छ । साथै तालिम कर्मचारीको अधिकार हो भन्ने प्रत्याभूति गरेर प्रत्येक वर्ष कुनै न कुनै तालिमको अवसरमा कर्मचारीलाई समेटिनु पर्छ । तालिमलाई क्षमता विकासका साथै अनुभव साझा र अभ्यास परिमार्जनको माध्यमको रूपमा लिनु पर्छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन केन्द्रीय कर्मचारी व्यवस्थापन निकाय हो भने अन्य मन्त्रालय तथा तह कार्यसञ्चालन निकाय हुन् । यी दुई निकायले कर्मचारीको सिपको विस्तृत विवरण (स्किल प्रोफाइलिङ) गर्ने र यसैको आधारमा तालिम आवश्यकता आकलन, तालिम व्यवस्था र कर्मचारी उपयोग गर्ने नीति लिनु पर्छ, जसको अभाव सधैँ देखिएको छ । कर्मचारीलाई नतिजामूलक कार्यविवरण साथ जिम्मेवारी तोक्ने, कार्यसम्पादन व्यवस्थापन प्रणाली लागु गर्ने परिपाटी सबल बनाइनु पर्छ । कर्मचारीलाई कामप्रति स्वयत्तता दिने तर सेवाग्राहीप्रति प्रत्यक्ष जवाफदेही बनाउने गरी आन्तरिक अभिुमखीकरण र कार्यसम्पादन व्यवस्था गरिनु पर्छ । सेवाग्राही कर्मचारी संवाद व्यवस्थित गर्ने र सिकायतका आधारमा मूल्याङ्कन गर्ने पद्धतिले पनि कर्मचारीलाई पेसागत जिम्मेवारीमा सावधान रहन बाध्य पार्छ । साथै उत्कृष्टता प्रवर्धन गर्न अग्रसरता परीक्षण र प्रोत्साहन गर्न सेवा मेला, कार्यसम्पादन सप्ताह, पुरस्कार तथा सम्मानका उपकारण अभ्यासमा ल्याउनु पर्छ । प्रशासनिक नेतृत्व सबल र सदाचारी नहुँदा पनि प्रणालीले नतिजा दिन नसकेको हो । त्यसैले कार्यकारी तहमा नेतृत्व परीक्षणका आधारमा जिम्मेवारी दिने परिपाटी चाहिन्छ । राजनीतिक कार्यकारी यसप्रति संवेदनशील हुनु पर्छ ।

नेपालको निजामती सेवाले सधैँ नराम्रो छैन न अहिले पनि क्षमतावान् कर्मचारी नभएका हुन् । केवल कार्यसम्पादन व्यवस्थापन र क्षमताको उपयोगको समस्या हो । त्यसैले विगतका राम्रा कामको संरक्षण र हस्तान्तरणका लागि संस्थात्मक सम्झना हस्तान्तरणको व्यवस्थित विधिले पनि केही हदमा निजामती सेवालाई व्यावसायिक बनाउन सक्छ । कर्मचारी जिम्मेवारीबाट अलग हुँदा अनिवार्य रूपमा हालवालालाई संस्थाको अवस्था, सम्पादित काम, चालु काम, थाल्नुपर्ने काम, संस्थाले अपनाएका सुधार रणनीति, कमीकमजोरी, जोखिम अवसरका आँकडाको विवरण लिखित रूपमा दिने र मौखिक रूपमा भन्ने परम्परा संस्थात्मक सम्झना हस्तान्तरण प्रणालीका अभिन्न भागका रूपमा लिइनु पर्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यसको नियमित अनुगमन र समीक्षा गर्नु पर्छ । यसरी व्यावसायिक प्रशासनको जग बसाएपछि त्यसले प्रणालीगत निरन्तरता पाउँछ र स्वचालित नवीकरणको बाटो समाउँछ । उल्लिखित पक्षमा ध्यान नदिई व्यावसायिक निजामती प्रशासनको कुरा गर्दा प्रशासनिक ठटेबाजी मात्र हुन्छ ।