नवलपुर, साउन २२ गते । नवलपुरको कावासोतीबाट उडेको सानो खैरो गिद्ध करिब छ सय किलोमिटर दुरी तय गरेर भारतको उत्तरप्रदेश हुँदै कैलालीको लम्कीचुहा पुगेको छ । ट्र्याक रेकर्डका आधारमा गिद्धले करिब छ सय किलोमिटर दुरी तय गर्दै लम्कीचुहा पुगेको नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अफिसर ईश्वरी चौधरीले जानकारी दिनुभयो ।
असार २७ गते कावासोतीको जटायु रेस्टुरेन्टबाट रुपन्देहीको गैडहवा ताल पुगेको यो गिद्ध केही दिन त्यहाँ बसेर आराम गरेको थियो । बर्दघाट, पोखरा हुँदै भारतको उत्तरप्रदेश पुगेको र त्यहाँ पनि चार पाँच दिन आराम गरेर लम्कीचुहा पुगेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो गिद्धलाई सन् २०२३ मा कावासोती–१३ को नमुना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा ट्र्याकिङ गरिएको थियो । गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट ट्याग ‘जे १६’ का आधारमा गिद्धको पहिचान गरिएको हो ।
विचरणका लागि यो गिद्ध लुम्बिनी, पोखरा, दाङ घुमिरहन्थ्यो । “कावासोतीबाट उडेको गिद्ध पहिलो दिनमै जटायु रेस्टुरेन्टबाट रूपन्देहीको गैडहवा तालनजिक रहेको गिद्ध रेस्टुरेन्ट पुगेको थियो । त्यहाँ केही दिन बसेर आराम गरी भारतको उत्तरप्रदेश पुग्यो,” अध्यक्ष चौधरीले भन्नुभयो, “उत्तरप्रदेशमा चार पाँच दिन आराम गरेर कैलालीको लम्किचुहा पुगेको देखिएको छ ।”
हाल सो गिद्ध झरीले बिरामी भएको चौधरीले बताउनुभयो । “लगातारको उडान र झरीले गिद्ध बिरामी परेको छ, त्यसलाई डिभिजन वन कार्यालय कैलालीमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाबाट गएको चिकित्सकको टोलीले उपचार गरिरहेको छ,” चौधरीले भन्नुभयो, “उपचारपश्चात कावासोतीमै ल्याएर थप उपचार गर्ने योजना बनाएका छौँ ।” स्थानीयको सहयोगमा गत आइतबार उद्धार गरेर सबडिभिजन वन कार्यालय लम्कीचुहामा राखिएको उक्त गिद्धको मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ । कमजोर अवस्थामा रहेको गिद्धलाई चोटपटक भने लागेको छैन । उपचारमा संलग्न चिकित्सक विकल्प कार्कीका अनुसार वर्षात्को पानीमा भिजेर तथा लामो दुरीको यात्रा गरेका कारण गिद्ध कमजोर देखिएको हो ।
पौडेलले भन्नुभयो, “अन्य चोटपटक छैन, लामो यात्रा र पानीमा भिजेका कारण कमजोर देखिएको छ, खाना, पानी र रगतको अभाव देखिएको छ, तीन दिनसम्म डिभिजन वन कार्यालयमै राखेर उपचार गर्छौं, ठिक भए केही दिनको आरामपछि आफैँ फर्केर नवलपुर जान पनि सक्छ, भएन भने थप उपचार गर्नु पर्ने हुन्छ ।”
गिद्धका गतिविधि अध्ययन गर्नका लागि कावासोतीको जटायु रेस्टुरेन्टमा रहेका सानो खैरो र डङ्गर प्रजातिका १६९ वटा गिद्धलाई स्याटेलाइट ट्याग लगाइएको छ । ती गिद्धहरूमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ढाडमा ट्याग लगाइएको हो । दुईदेखि तीन लाखसम्म मूल्य पर्ने स्याटेलाइट ट्याग ६० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई दुई घण्टामा तथ्याङ्क आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्याङ्क यसबाट पाइने फिल्ड अफिसर चौधरीले बताउनुभयो ।
घामले आफैँ चार्ज हुने ब्याट्री राखिएको, तीनदेखि पाँच वर्षसम्म आयु रहेको स्याटेलाइट ट्यागबाट ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबै जानकारी प्राप्त हुने भएकाले गिद्धको गतिविधिको अध्ययन गर्न सजिलो हुने फिल्ड अफिसर चौधरीको भनाइ छ । सन् २०१८ मा कावासोतीकै डङ्गर प्रजातिको गिद्ध जटायु रेस्टुरेन्टबाट एक हजार एक सय किमी यात्रा गर्दै भारत र पाकिस्तानको सिमानासम्म पुगेको थियो ।