• २१ साउन २०८२, बुधबार

राप्ती राजमार्गको स्थलगत निरीक्षण

blog

पहिरोका कारण सास्ती दिइरहने राप्ती राजमार्गको स्थलगत निरीक्षण गर्दै सांसद ज्वालासहित । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, साउन २१ गते । पानी पर्नासाथ पहिरोका कारण सास्ती दिइरहने राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्डको चोरखोला क्षेत्रमा स्थलगत अनुगमन गरिएको छ । सल्यानबाट निर्वाचित संघीय सांसद एवं पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार सल्यान–दाङ सिमानाको चोरखोला क्षेत्रको पहिरोका बारेमा स्थलगत निरीक्षण तथा सरोकारवालासँग छलफल गर्नुभएको हो । 

बर्खाको समयमा पानी पर्नेवित्तिकै पहिरो झर्ने र नागरिकले घण्टौसम्म सास्ती पाउँदै आएकाले समस्याको दिगो समाधानका लागि निरीक्षण गरिएको हो। चोरखोला क्षेत्रमा दैनिकजसो पहिरो झर्दा यात्राका क्रममा जोखिमसंगै यात्रुहरुले दुःख व्यहोरिरहेका छन् । बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन चल्ने व्यवस्था मिलाउन नागरिकस्तरबाट आग्रह भइरहेको बेला संघीय सांसद, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुले सडकको अवस्था अवलोकनसँगै छलफल गरेका हुन् । 

चोरखोला पहिरोको स्थलगत निरीक्षणपछि यात्रु तथा सरोकारवालासँग छलफल गर्दै सांसद ज्वालाले समस्या समाधानका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोका कारण नागरिकले सास्ती पाएका छन्, पहिरो खस्छ, खसेको पहिरो पन्छाउनै घण्टौ समय लाग्छ, त्यसका लागि पहिरो खस्नवित्तिकै हटाउने व्यवस्थाका लागि सडक डिभिजन दाङसँग सहमति भएको छ।” 

राप्ती राजमार्गको पहिरोको दिगो समाधानका लागि सडकको दाँयाबाँया जाली लगाउने, नाली सफा गर्ने र सडक मर्मतको काम चाँडै सुचारु गर्न भनिएको ज्वालाको भनाइ छ । “अहिले पनि सडक स्तरोन्नतिका लागि काम भइरहेको छ, राम्री चोरखोला सडकको काम चाँडै सक्न तथा सम्धिमोडदेखि खारखोलासम्मको काम चाँडै सुचारु गरेर सम्पन्न गर्न निर्देशन दिइएको छ, समयमै गुणस्तरीय काम हुनेमा आशावादी छौँ’ उहाँले भन्नुभयो । 

सडक अनुगमन तथा छलफलमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वनस्पती अनुसन्धान केन्द्र मूलपानीका प्रमुख डा. मित्र पाठक, सडक डिभिजन दाङका इन्जिनियर अन्जु सुवेदी, समाजसेवी भद्रसिंह बुढा, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रमेश गौतम, निर्माण व्यावसायी, सुरक्षा निकाय तथा सरोकारवालाको सहभागिता रहेको थियो ।