नवीनराज कुइँकेल
लमजुङ, असार १६ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ का उमाकान्त गौतमले पाँच वर्ष यता रैथाने जातको धान खेती गर्न छाड्नुभएको छ । उहाँले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध लगायतका हुन् । “पहिले–पहिले घर गाउँकै धान रोपिन्थ्यो ।
यसमा दुःख बढी, उत्पादन कम भयो”, गौतमले भन्नुभयो, “अहिले उन्नततर्फ लागियो ।” उहाँका अनुसार छिटो फल्ने र धेरै उत्पादन दिने भएपछि किसानहरू नयाँ नयाँ जाततर्फ आकर्षित भएका छन् ।
बेँसीसहर नगरपालिका–६, गोताङथोककी दुर्गा बोहोराले पनि रैथाने छोडेर उन्नत तथा वर्णशङ्कर जातको धान खेती गर्दै आउनुभएको छ । “गाउँमा सबैले उन्नत जातकै धान रोप्छन्”, बोहोराले भन्नुभयो, “पुरानो धानको त बिउ नै पाइन छाड्यो ।” उहाँका अनुसार पुरानो भनेको अनादि धान मात्रै छ । “पहिला पहिला पानी लाग्ने र नलाग्ने ठाउँमा फरक फरक धान लगाइन्थ्यो । एक्ले, मनसुली, मन्सरा, आँगालगायतका थुप्रै धान थिए”, भोर्लेटारका किसान मोहनहरि पौडेलले भन्नुभयो, “आजभोलि नयाँ आए, पुराना हराए ।”
राइनास नगरपालिकास्थित धमिलिकुवाका किसान कृष्णराज पाण्डेले राइनासटारका फाँटभरि उन्नत तथा वर्णशङ्कर जातका धान खेती गरिएको बताउनुभयो । “यहाँ त नहर चल्छ । दुई खेती धान हुने भएकाले सबैले हाइब्रिड नै लगाउँछन्”, पाण्डेले भन्नुभयो । आफूलाई खानभन्दा अरूलाई बेच्नका लागि खेती गरिएकाले व्यावसायिक किसानहरू हाइब्रिड जातका धान खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो । किसानहरूले रामधान, पृथ्वी, तारालगायत रोप्ने गरेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धान खेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशत भन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिँदै आएको छ । वर्णशङ्करमा यूएस ३१२, शङ्कर, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ । यस्तै, स्थानीय जातमा एक्ले, मन्सरा, मधेशे, अनादि, आँगा छन् ।
ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गर्ने गरेका छन् । यसबाहेक किसान आफैले पनि बजारबाट उन्नत र वर्णशङ्कर जातका धानको बिउ किनेर रोप्ने गरेका छन् ।
किसानहरू उन्नत र वर्णशङ्कर जातका धान लगाउन थाले पनि ज्ञान केन्द्र र स्थानीय तह भने रैथाने जातका धान जोगाउने अभियानका कार्यक्रम गरिरहेका छन् । “व्यावसायिक खेती गर्नेलाई उन्नत जातका धान सिफारिस गरे पनि रैथाने जातहरू जोगाउन समुदायसँग मिलेर काम गरिरहेका छौँ”, कृषि ज्ञान केन्द्रका प्रमुख खतिवडाले भन्नुभयो, “विस्तारै रैथाने खेतीतर्फ पनि किसानहरू आकर्षित हुँदै गएका छन् ।”