नवीनराज कुइँकेल
लमजुङ, साउन २२ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत विज्ञान पौडेल नेतृत्वको टोलीले मङ्गलबार कार्यालय समय सकिएपछि साँझ परियारको घर पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।
सदरमुकाम बेसीशहरबाट ११ किलोमिटर दुरीमा रहेको पामचोक गाउँ पुगेर मङ्गलबार साँझ ६ बजेतिर नागरिकता वितरण गरिएको प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो । उहाँका अनुसार नागरिकता पाएपछि रामचन्द्र परियार र उहाँको आमा खुसी हुनुभएको थियो । परियारलाई नागरिकता प्रदान गर्न प्रशासकीय अधिकृत पौडेलसहित कार्यालयका नायब सुब्बा नेत्रबहादुर गुरुङ, खरिदार दीननाथ अधिकारी, वडा कार्यालयका सहायक सचिव शैलेन्द्र घिमिरे परियारको घर पुग्नुभएको थियो । विशेषगरी शारीरिक रुपमा अशक्त नागरिकहरुलाई राज्य सेवाको पहुँचमा ल्याउन लक्षित कार्यक्रमहरु अत्यन्तै आवश्यक रहेको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
वडा कार्यालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सबै प्रक्रिया पूरा गरेर पूर्णरुपमा अपाङ्गता भएका रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको हो । यस प्रकारका सेवामुखी कार्यक्रमले नागरिकहरूमा राज्यको उपस्थिति आभास हुने र सरकारप्रति अपनत्व भाव पनि सिर्जना गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
अपाङ्गता भएका नागरिकलाई नागरिकता वितरणको यो प्रयासले सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति गराउने दिशामा सरकार क्रियाशील रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सकिए मात्र राज्यका सेवाहरू साँच्चिकै जनमुखी र समावेशी बन्न सक्ने बताउनुभयो ।