अर्घाखाँची समाचारदाता
अर्घाखाँची, साउन २२ गते । अर्घाखाँचीका ग्रामीण भेगमा कालोपत्रेले तीव्रता पाएको छ । जिल्लाका टोल टोलमा सडक विस्तार भएको अर्घाखाँचीमा पछिल्लो समय गाउँबस्तीमा समेत कालोपत्रेले तीव्रता पाएको हो । कालोपत्रे भएपछि वर्षायाममा समेत यातायात सहज भएको छ । पछिल्लो आर्थिक वर्ष २०८१÷८२ मा सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले ३.३२ किलोमिटर नयाँ ट्र्याक, २७.६३ किमी कालोपत्रे, ५.३७ किमी सडक ढलान, ३१ किमी सडक चौडाइ गरेको जनाएको छ ।
कार्यालय प्रमुख गोपीराज पुनमगरले यस वर्ष १४५ वटा सडक योजना निर्माण सम्पन्न भएको जानाकारी दिनुभयो । एक अर्ब दुई करोड ३६ लाख रुपियाँ योजना सम्पन्न गर्न रकम खर्च भएको मगरको भनाइ रहेको छ । बहुवर्षीय जिल्लाका गौरवमा ११ योजना निर्माणाधीन अवस्थामा रहेका छन् । स्रोत प्राप्त भएका नौ वटा बहुवर्षीय सडक, पुलको बोलपत्र आह्वान गरिएको कार्यालयले जानकारी दिएको छ ।
छ स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले पनि सडकलाई प्राथमिकतामा राखेका छन् । पाणिनि गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले गाउँपालिका र सङ्घ सरकारको समपूरक योजना अन्तर्गत पाणिनी गाउँपालिकाले भन्ज्याङ–धातिबाङ–डाँडाकटेरी सडक अन्तर्गत झन्द्रेक र धातिबाङको फेदीखोलामाथि पक्की ढलाइ ३५० मिटर गरेको जानकारी दिनुभयो ।
शीतगङ्गा नगरपालिकाले झोलुङ्गे पुल सुवर्णखाल र ठाडा–जुकेना–गल्दा सडकलाई पिच गरेको छ । त्यस्तै छत्रदेव गाउँपालिकाका प्राविधिक प्रमुख साजन पाण्डेले गत वर्ष पाँच किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिनुभयो । भूमिकास्थान नगरपालिकामा हालसम्म ४२ किलोमिटर सडक कालोपत्रे भएको छ । नगरपालिकाका अधिकृत शेषकान्त घिमिरेले आव २०८१/८२ मा नगरपालिकाले तीन किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिनुभयो । मालारानी गाउँपालिकामा आव २०८१/८२ मा ३.५ किलोमिटर सड्क कालोपत्रे भएको छ । प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले आठ किलोमिटर सडक कालोपत्रेका लागि संरचना तयार भएको जानकारी दिनुभयो ।