गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभएको छ । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने स्पष्ट पार्नुभयो ।
प्रेस चौतारी नेपालद्वारा बुधबार मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना आदानप्रदान गर्नेक्रममा उहाँले कर्मचारी सरुवा प्रणाली व्यवस्थित गर्न आफूले कर्मचारी सरुवा मापदण्ड निर्माण अन्तिम चरणमा पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री, सचिव र सहसचिवलाई भनसुन गरेर कर्मचारी सरुवा हुन्छ भन्ने मानसिकता अन्त्य गर्नु पर्छ । अब कर्मचारी सरुवा विधि र प्रक्रियाबाट मात्र हुन्छ ।”
प्रशासनिक अस्थिरता अन्त्य गर्ने गरी आफूले काम गर्ने योजना बनाएको बताउँदै मन्त्री न्यौपानेले तिनै तहमा सुशासन कायम गर्ने कार्य अहिले आफ्ना लागि प्रमुख चुनौती बनेको बताउनुभयो ।
मन्त्रालयमा सङ्घीयताको काम कमजोर भएको स्वीकार गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्दै सङ्घीयता सबल बनाउने गरी कार्यदल निर्माण गरेर काम गर्न सुरु भइसकेको उहाँको भनाइ छ । “म सामान्य जीवन बिताउने व्यक्ति हुँ, मलाई कुनै लोभ छैन, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रमुख लक्ष्य हुन्छ,” मन्त्री न्यौपानेले भन्नुभयो ।
सो अवसरमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, महासचिव हीरामान लामालगायतले मन्त्री न्यौपानेको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।