हरिकृष्ण ऐडी
मुगु, साउन २२ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेपाल–चीन सीमामा रहेको नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द रहेको उक्त नाका यही साउन २५ देखि भदौ १० गतेसम्म खुल्ला रहने छ ।
प्रमुख जिल्ला अधिकारी कमल प्रशासद पाण्डेका अनुसार गृह मन्त्रालयको पत्र अनुसार मुगुको नाक्चेलाग्नाको ह्यजिमार क्षेत्रमा दुई पक्षीय व्यापार मेलाका लागि साउन २५ देखि भदौ १० गतेसम्मका लागि खुल्ला गरिएको उहाँले बताउनुभयो ।
चीनको स्वशासित ह्यजिमार क्षेत्रमा आउजाउ गर्नलाई सिमा प्रवेशका लागि हालसम्म पाँच सय जानाले नवीकरण र नयाँ सीमा पास लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
नाका खुल्ला गरिने समयावधिभर नेपालतर्फका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
नाक्चेलाग्ना नाका भएर यहाँका स्थानीय बासिन्दादेखि छिमेकी जिल्ला जुम्ला र हुम्लाका बासिन्दाले घर्यासी आवश्यक सामग्रीहरु खरिद गर्न चीनको स्वशासित क्षेत्र ह्यजिमारको हाटबजारसम्म जाने गरेका छन् । नाकच्चेलाग्ना नाका वर्षको एकपटक मात्र खुल्ने गरेको मुगुमकार्मारोङ गाउँ पालिकाका– ४ का स्थानीय पेमाजुङ लामाले बताउनुभयो । यहाँका नागरिकलाई सहजता गर्नलाई कम्तीमा छ महिनासम्म नाक्चेलाग्ना नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन हुँदा यहाँका नागरिकलाई सहजतासँगै स्थानीयले रोजगारी पाउने उहाँले बताउनुभयो ।
मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार चीनको स्वशासित ह्यजिमारको हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया,घ्यु, लत्ताकपडालगायतका सामग्रीहरु किनबेच हुने गरेको छ ।
यहाँका नागरिकको सहजताकालागि र स्थानीयले रोजगारमा विकास हुनका लागि नाका छ महिनासम्म सञ्चालन गर्नलाई सहजिकरण गरिदन भनि नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयलाई मुगुमकार्मारोङ गाउँपालिकाले पत्रचार गरेको तीन वर्ष बितिसक्दा पनि यी निकायबाट अहिलेसम्म कुनैपनी जानकारी नआएको गुनासो उहाँले गर्नुभयो ।
नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् । यो नाका मुगुमकार्मारोङ गाउँ पालिकामा पर्दछ । मुगुमकार्मारोङ गाउँपालिका १ का वडाध्यक्ष च्यावा लामाले दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने उहाँ बताउनुहुन्छ । सदरमुकाम गमगढीबाट नाक्चेलाग्ना नाकासम्म ८७ किलोमिटर सडक बनाउने कार्य २०६३ सालदेखि सुरुवात गरिएको हो । गमगढी नाकच्चेलाग्ना लोगमार्ग हालसम्म १७ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ । नाक्चेलाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो ।