रङ्गेली समाचारदाता
विराटनगर, साउन २१ गते । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत माघयता विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित सात जना र चोरिएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको विवरण मङ्गलबार सार्वजनिक गरेको हो ।
यो समूहले मोरङका आठ, सुनसरीका १२ र झापाका दुई स्थानका ट्रान्सफर्मर चोरी गरेको आरोप छ । चोरीमा संलग्नबाट सिँचाइ प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर झिकेर बिक्री गर्दै आएको पाइएको थियो ।
घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिदिन नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्राचार गरेपछि अनुसन्धान सुरु गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले विशेष टोली परिचालन गरेर २२ दिनमा संलग्नहरूको पहिचान गरी नियन्त्रणमा लिन सफल भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संलग्न रहेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी, ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास, दुहबी नगरपालिका–२ का ३९ वर्षीय प्रयोगकुमार खाँ, मोरङ बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रन्जित तामाङ र भारत घर भई दुहबी नगरपालिका–४ ससुरालीमा बस्ने ३४ वर्षीय आलम मिया छन् ।
ट्रान्सफर्मर चोरी गरेपछि त्यसबाट निकालिएको तामालगायतका सामान भने विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्रकार, सुनसरी दुहबी नगरपालिका–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सीताराम राईले खरिद गर्ने गरेको पाइएपछि पक्राउ गरिएको डिआइजी कार्कीले जानकारी दिनुभयो । तामाको तार खरिद गरेर उनीहरूले राखेको अवस्थामा ३६२ केजी बरामद गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन अनुसार चोरी भएका २२ वटा ट्रान्सफर्मर दुई करोड रुपियाँ मूल्य बराबरका हुन् । यसबाहेक ढुवानी खर्च, जडान खर्च छुट्टै रहेको छ । डिआइजी कार्कीका अनुसार संलग्नहरू विद्युत् जडानसँग ज्ञान भएका हुन् । प्रहरीले ट्रान्सफर्मर चोरीमा प्रयोग गरिएका औजारमा डायल रेन्ज २२ थान, सलाई रेन्ज तीन थान, पिलास तीन थान, पेचकस तीन थान, छिनो एक थान, साङ्ली एक थान, कैँची एक थान, ह्याक्सो बिलेट तीन थान बरामद गरेको छ । उनीहरूले प्रयोग गर्ने छ वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रान्सफर्मर पोलबाट झारेपछि यो समूहले भित्रको तामा झिकेर भाँडो छोड्ने गरेको थियो । चोरी भएका सबै स्थानमा एकै प्रकारको जुक्ति उनीहरूले लगाउने गरेको डिआइजी कार्कीले बताउनुभयो । स्थान छनौटदेखि चोर्ने शैलीसमेत एकै देखिएपछि यो एउटै समूह रहेको प्रहरीले अनुमान गरेको थियो । खोजतलास गर्दैगर्दा ट्रान्सफर्मर लगातार चोरी भइरहेका थिए । त्यसपछि एकान्त स्थानका ट्रान्सफर्मरको रेकी गर्न प्रहरी परिचालन गरिएको थियो । यो घटनाको गिरोहसम्म पुग्न ३५ जना प्रहरीलाई सादा पोसाकमा परिचालन गरिएको डिआइजी कार्कीले जानकारी दिनुभयो ।
गत साउन ९ गते रङ्गेली नगरपालिका–९ खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी गर्ने तरखरमा रहेको एउटा समूहलाई फेला पारेको थियो । जसमध्ये तीन जना फरार भए पनि एक जना अर्जुनकुमार थारूलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि प्रहरीले संलग्नको खोजीका लागि प्रदेश तथा जिल्ला कार्यालयबाट संयुक्त टोली खटाएको थियो ।