बाजुरा समाचारदाता
बाजुरा, साउन २२ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका दुर्गमवासी लामो समयदेखि कोल्टीमा इलाका प्रशासनको माग गर्दै आएका छन् । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका दुर्गम क्षेत्रमा पर्ने गर्दछन् । यहाँका बासिन्दालाई नागरिकता राहदानीलगायतका काजजातका लागि दुईदेखि चार दिन लगाएर सदरमुकाम मार्तडी धाउनु पर्छ । पछिल्लो समय हिउँदको महिनामा गाडीको सुविधा भए पनि उनीहरूलाई अझै १० घण्टाको पैदल समय लाग्ने गरेको छ ।
हिउँदमा यहाँ चल्ने गाडी बर्खाको समय मार्तडीमै रोकिने गर्छन् । त्यसपछि उनीहरूलाई घरबाट आउजाउ गर्न चार दिन लाग्ने गरेको छ । यसरी सदरमुकाम पुग्न जति समय लाग्छ त्यति नै खर्च बढ्ने गरेको स्थानीयको गुनासो छ । उनीहरूलाई नागरिकता बनाउनका २० हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ । यहाँका सबैभन्दा टाढाका गाउँ मिगु र फयाल्गाउँ हुन् । ती गाउँबाट नागरिकता बनाउन मार्तडी जान एक सातासम्म लाग्ने गरेको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।
खर्चको डरले कतिपयले नागरिकता नै बनाउँदैन, बनाए पनि ढिलो बनाउने गरेको देखिन्छ । नागरिकता नभएका कारण उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुने गरेका छन् । बिच्छ्यादेखि मार्तडी जान पाँचदेखि छ दिन पैदल लाग्ने गर्छ । अहिले धुलाचौरमा गाडी आउने गरेको भए पनि त्यहाँबाट मार्तडीसम्म गाडीमै १२ घण्टा लाग्ने गरेको हिमाली गाउँपालिकाको बिच्छ्याका अम्मलाल विकले बताउनुभयो ।
यहाँका अधिकांशले कोल्टीमा शिविर आएको बेलामा मात्र नागरिकता बनाउने गरेका छन् । यहाँका स्थानीयले जिल्ला प्रशासन कार्यालय बाजुरालाई इलाका प्रशासनको कार्यालय कोल्टीमा राख्न माग गरेको भए पनि त्यो माग अझै पूरा हुन सकेको छैन । इलाका प्रशासन कोल्टीमा राख्ने गरी यहाँका चार स्थानीय तहले योभन्दा पहिला पनि दुई/चार पटक जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइसकेका छन् ।
चार वटा पालिकाको इलाका प्रशासन कार्यालय कोल्टी हुनुपर्ने भएको सहमतिबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको र उताबाट पास भएर सो पत्र अर्थ मन्त्रालयमा पुगेको छ, बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । अर्थ मन्त्रालयमा पनि प्रक्रियामा गइसकेकाले चाँडै नै यो समस्या समाधान हुने विश्वास आफूलाई लागेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने चारपालिका बुढीनन्दा नगरपालिकामा तीन हजार ४५२, हिमाली गाउँपालिकामा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामीकार्तिकमा दुई हजार २२३ घरपरिवार बसोबास गर्दै आएका छन् ।