पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), साउन २२ गते । दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम उत्खनन स्थल जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गत सोमबार एक कार्यक्रमबिच भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) गणेशबहादुर बरालले बताउनुभयो । उहाँले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर अस्थायी प्रहरी चौकी स्थापना गरिएको जनाउनुभयो । उहाँले स्थानीय नागरिकलाई शान्तिसुरक्षा दिनु प्रहरीको दायित्व भएको भन्दै जलजलेमा शान्तिसुरक्षा दिन अस्थायी प्रहरी चौकी स्थापना गरिएको उल्लेख गर्नुभयो ।
जलजले क्षेत्रलाई अति संवेदनशील र गौरवको आयोजनाको केन्द्रका रूपमा चिनाउँदै आएकाले अस्थायी प्रहरी चौकी स्थापनाले अपराध नियन्त्रण, विपत् व्यवस्थापन ठुलो सहयोग पुग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।
उहाँले चौकी स्थापनाले पेट्रोलियम उत्खनन क्षेत्रको सुरक्षा, सवारी दुर्घटनाको न्यूनीकरण सहयोग पुग्ने समेत जनाउनुभयो । यस्तै भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्तिसुरक्षा कायम हुने बताउनुभयो । उहाँले शान्तिसुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले जनताको सुरक्षाका साथै गाउँमा हुने अवाञ्छित गतिविधि, लागुऔषधको गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएको जनाउनुभयो । अस्थायी प्रहरी चौकी स्थापना भएसँगै स्थानीय बासिन्दाले शान्तिसुरक्षाको महसुस गरेका छन् । चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो । त्यसैले जलजले क्षेत्रलाई अति संवेदनशील र गौरवको आयोजनाको केन्द्रका रूपमा चिनाउँदै आएकाले अस्थायी प्रहरी चौकी स्थापनाले शान्तिसुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ ।