• २२ साउन २०८२, बिहिबार

तोकेको भन्दा बढी भाडा

blog

धनगढी–टीकापुर चल्ने बस अत्तरियामा यात्री कुर्दै । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता 

टीकापुर, साउन २२ गते । कैलालीको टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले चर्को भाडा असुली गर्दा यात्रु मारमा परेका छन् । यातायात व्यवस्था विभागले २०८१ पुस २२ गतेदेखि लागु हुने गरी भाडा दर तोके पनि यातायात व्यवसायीले त्योभन्दा बढी भाडा लिइरहेका छन् । सरकारले २५ किलोमिटरदेखि २५० किलोमिटर दुरीका पक्की तथा ग्राभेल बाटोमा चल्ने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति तीन रुपियाँ भाडा दर तय गरेको छ तर टीकापुर–धनगढी रुटमा करिब एक सय किलोमिटरको भाडा ३५० रुपियाँ उठाइरहेका छन् । विभागले तोकेको भाडादर अनुसार यस क्षेत्रको भाडा तीन सय रुपियाँ हुनुपर्ने हो । 

यस्तै लम्की चोकदेखि टीकापुरसम्मको दुरी १३ किलोमिटर छ । यस रुटको भाडादर प्रतियात्री ६० रुपियाँ उठाइरहेका छन् । सरकारले प्रतिकिलोमिटर तीन रुपियाँ राखे पनि टीकापुर–धनगढी रुटमा साढे तीन रुपियाँ र टीकापुर लम्की सडक (१३ किलोमिटर) मा प्रतियात्री प्रतिकिलोमिटर चार रुपियाँ साठी पैसा असूली भैरहेको छ ।  तय गरेको भाडादर लागु भए ३९ रुपियाँ मात्रै पर्ने थियो । 

यातायात व्यवस्था विभागको सवारी अनुगमन मापदण्ड तर्जुमा, सवारीचालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अध्ययन अनुसन्धान शाखाका प्रमुख तथा सूचना अधिकारी गणेशमानसिं राईले विभागले तोकेको भाडादर लागु गर्ने सम्बन्धित प्रदेशको जिम्मेवार निकाय र प्रमुख जिल्ला अधिकारीको रहेको बताउनुहुन्छ । भाडादरमा ठगी भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीलाई छ महिनापहिले नै निवेदन गरे पनि कुनै सुनुवाइ नभएको उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टको भनाइ छ । सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले सरकारले नयाँ रुटमा दर कायम नगरेको, सबै सामानको मूल्य वृद्धि भइरहेको र अन्य समितिले पनि यसै गरी भाडा उठाइराखेको बताउनुभयो ।