काठमाडौँ, असार १६ गते । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
स्वास्थ्य बिमा बोर्डका शाखा अधिकृत झलकराज जोशीले साउन १ गतेबाट सामुदायिक तथा निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दुको रूपमा नरहने जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा ९६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ) ले प्रथम विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकोले उक्त निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि कतिपय सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरू स्वास्थ्य बिमा बोर्डको प्रथम सेवा विन्दु तोकिएर सेवा दिँदै आएका थियो । यो निर्णयसँगै अब प्रथम सेवा विन्दु सरकारी अस्पताल हुने छन् ।