मुसीकोट समाचारदाता
रुकुमपश्चिम, साउन २२ गते । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ भन्दा गत आव २०८१/८२ मा नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको हो । जिल्ला प्रशासनबाट सम्पादित कार्यको जानकारी गराउनुहुँदै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले गत आवमा पाँच हजार ६४८ नयाँ नागरिकता जारी गरिएको र अघिल्लो आवमा पाँच हजार ८०२ वटा नागरिकता वितरण गरिएको बताउनुभयो ।
पछिल्ला दुई वर्षको तुलना गर्दा नयाँ नागरिकता बनाउनेको सङ्ख्यामा १५४ ले कमी आएको छ । प्रमुख जिल्ला अधिकारी जिसीले राहदानी लिनेको सङ्ख्यामा समेत कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०८१/८२ मा दुई हजार ८९० वटा राहदानी वितरण गरिएका छन् भने अघिल्लो आव २०८०/८१ मा तीन हजार ३५८ वटा राहदानी वितरण गरिएको थियो ।
प्रशासन कार्यालयका अनुसार अघिल्लो आवमा तीन हजार ५०३ वटा नागरिकताको प्रतिलिपि जारी भएको थियो भने गत आवमा चार हजार ३६८ वटा प्रतिलिपि जारी गरिएको छ । प्रशासनले गत वर्ष एक वटाले नागरिकता त्याग गरेको र तीन जनाको नागरिकता रद्द गरिएको जनाएको छ । नागरिकता र राहदानी बनाउनेको मुख्य कारण खोजीको विषय भएको प्रजिअ जिसीले उल्लेख गर्नुभयो । एउटा कारण बसाइँसराइ हुन सक्ने भए पनि विभिन्न कारण हुन सक्ने उहाँको भनाइ छ । राहदानी लिनेको सङ्ख्या घट्नुका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आएको अनुमान गरिएको छ ।
राष्ट्रिय परिचयपत्र दर्ता दोब्बर
जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ताको अवस्था भने दोब्बरले बढेको छ । आव २०८०/८१ मा छ हजार ३०४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको थियो भने आव २०८१/८२ मा १२ हजार ८९७ जनाको विवरण दर्ता गरिएको छ । प्रशासनले छ हजार ५३४ वटा राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । पछिल्लो समय सरकारी कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य बन्दै गएपछि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा पनि वृद्धि भएको हो ।
प्रशासन कार्यालयले गत आव २०८१/८२ मा एक करोड ६२ लाख १३ हजार ७५७ रुपियाँ राजस्व सङ्कलन गरेको हो । न्यायिक दस्तुर, परीक्षा शुल्क, राहदानी शुल्क, हातहतियार इजाजतपत्र दस्तुर, प्रशासनिक दण्ड जरिबाना, जफत र अन्य विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको हो । कार्यालयले गत वर्ष पुँजिगतर्फ ४६ लाख १० हजार ४८६ र चालुतर्फ दुई करोड पाँच लाख ८७ हजार २८२ रुपियाँ खर्च भएको जनाएको छ ।