गुणबहादुर रोका
सुलीकोट, असार १७ गते । गोरखाको पालुङटार नगरपालिकाको पुतलीखेत-बुढीचौर-लिगलिगकोट सडक कालोपत्रे भएको छ । पालुङटार नगरपालिका-१, पुतलीखेतबाट झण्डै साँढे ३ किलोमिटर सडक कालोपत्रे भएको हो ।
पालुङटार नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय गोरखाको ९ करोड ८७ लाख २७ हजार ८३६ रुपियाँ बजेट मार्फत कालोपत्रे गरिएको हो । सडक कालोपत्र योजनाका लागि नेसनल भुमेश्वर शिव जेभीसँग २०८१ साल जेठ ७ गते सम्झौता भएर सडक कालोपत्रे सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८३ साल जेठ ६ गते सम्पन्न गरिसक्नु पर्ने भएता पनि निर्माण कम्पनीले दक्ष कामदार सहितको प्राविधिक टोलीले निरन्तर रूपमा निर्माण काममा जुटेपछि एक वर्ष अगाबै सडक कालोपत्रे सम्पन्न भएको उहाँले बताउनुभयो ।
पुतली खेतबाट लिगलिगकोट जाने सडक गौरवको आयोजना भएकाले पालुङटार नगरपालिकाले बजेट व्यवस्थाका लागि जनप्रतिनिधिको टिम नै मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर आवश्यक बजेट माग गरिए अनुसार बजेट व्यवस्थापन भएको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो ।
पालुङटार नगरपालिकाले बजेट व्यवस्थापनका लागि केन्द्रिय सरकारसँग पनि आवश्यक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिकाको पर्यटकिय गन्तवयको रूपमा विकास हुँदै गएको लिगलिगकोटमा आन्तिरिक तथा बाहय पर्यटकहरूका लागि लिगलिगकोट पुग्न सडक निर्माणले सहज बनाएको पालुङटार नगरपालिकाका-१ का वडाध्यक्ष कृष्ण परियारले बताउनुभयो ।
लिगलिगकोट ऐतिहासिक गोरखा राज्य एकीकरण हुनुभन्दा पहिले सानो राज्य थियो, वडाध्यक्ष परियारले भन्नुभयो, ‘जो मानिस पहाड चढेर सबैभन्दा पहिलो लिगलिगकोट पुग्थ्यो उसलाई एक वर्षका लागि राजा बनाइने प्रचलन रहेको छ ।’
लिगलिगकोट समुन्द्र सतह देखि करिब १४५० मिटर अर्थात ४७५० फिट उचाइमा रहेको लिगलिगकोटबाट मनास्लु हिमाल, गोरखा र लमजुङका अधिकांश भुभागहरू देखिने गर्दछ ।
अहिले लिगलिगकोट ऐतिहासिक स्थलका रूपमा पर्यटकहरूको आर्कषण बन्दै गएको छ भने लिगलिगकोटमा पदयात्रा गर्न, दृश्यअवलोकन गर्न, र पुराना इतिहास बुझन धेरै पर्यटकहरू त्यहाँ पुग्ने गरेका नगरपालिकाले जनाएको छ ।
नेपालको एकीकरणको आधार पनि लिगलिगकोट भएकाले त्यस ठाउँमा पुग्न स्थानीय सरकारले सबै ठाउँबाट लिगलिगकोट पुग्न सडक निर्माण लगायतका कामहरू अघि बढाएको नगर प्रमुख विवश चिन्तनको भनाइ छ ।