जीवछ यादव
लहान, साउन २२ गते। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले साझा दायित्त्व बुझेर चुरे संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले लहान नगरपालिका वडा नम्बर ६ र ७ मा निर्माण गरेको बहुउदेश्यीय व्यापारिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
जलवायु परिवर्तनको कारण समयमा वर्षा नहुँदा यस वर्ष मधेशमा परेको खडेरीले मधेश प्रदेशका किसानले पाएको सङ्कट निवारण गर्न वैकल्पिक उपायमा सरकार लागेकै छ तर भरपर्दो उपाय भनेको चुरे संरक्षण नै रहेको उहाँले प्रष्ट पार्नुभयो।
‘‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफै मधेश प्रदेशको सङ्कटग्रस्त क्षेत्रको भ्रमण गरी यस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर पाँच सय डिप बोरिङग जडान गर्ने घोषणा गर्नुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘प्रधानमन्त्रीले गरेको घोषणा कार्यान्वयन गर्ने काम अगाडि बढिसकेको छ।’’
चुरे क्षेत्रको संरक्षण नभए मधेश प्रदेशमा कृषि उपज नै नहुने अवस्था रहेकोले चुरेको संरक्षण गर्न तीनै तहको सरकारले साझा नीति बनाएर व्यापक जनचेतनाको कार्यक्रम ल्याउन जरुरी रहेको उहाँले जोड दिनुभयो। किसानले आउने वर्षदेखि समयमा नै रोपाइँ गर्न सक्ने र मलखाद्यको सङ्कट हुनै नदिइने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ।
कार्यक्रममा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले कावा प्रधानमन्त्री सिंहबाट व्यापारिक भवनको साँँचो बुझ्दै यस भवनको निर्माणले लहानको आर्थिक समृद्धिमा फडको मार्ने विश्वास व्यक्त गनुभयो।
सिराहा जिल्लाका किसानलाई राहत, सिँचाइको व्यवस्था र मलखाद्यका लागि देखिएको समस्या समाधान गर्न नेपाली कांग्रेस सिराहाका सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादवले कावा प्रधानमन्त्री सिंहको ध्यान आकर्षित गराउनुभयो।
एकीकृत सहरी भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्रप्रसाद साहले २०७९/८० मा स्वीकृत ५० करोड ३६ लाख ६४ हजारको स्वीकृत आयोजना २९ करोड ५८ लाख खर्च भएको बताउनुभयो।