• १७ असार २०८२, मङ्गलबार

नारायणगढ–बुटवल सडक : चौथो पटक म्याद थपको तयारी

blog

दाउन्नेको जाममा फसेको गाडीको उद्धार गरिँदै ।

नवलपुर समाचारदाता

नवलपुर, असार १७ गते । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि अन्तिम भन्दै तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा फेरि म्याद थपको गृहकार्य सुरु भएको छ । आगामी असार ८ गते तेस्रो पटक थपिएको म्याद सकिने भएकाले त्यसअघि नै गृहकार्य सुरु गरिएको हो । चीनको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले थप डेढ वर्ष अर्थात् ५२६ दिन समय मागेको कम्पनीका आयोजना व्यवस्थापक राकेश झाले जानकारी दिनुभयो ।

झाले भन्नुभयो, “विविध कारणले गर्दा तोकिएको समयमा काम सम्पन्न हुन सकेन, अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ, त्यसैले अब सन् २०२६ को डिसेम्बर अन्तिमसम्मको समय थप गरिदिन सरकारसँग आग्रह गरेका छौँ । त्यति समय दिएमा काम पूर्णरूपमा सम्पन्न गर्छौं ।” 

उहाँले अर्को साउनसम्म दाउन्नेसहित नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटरको सबै सडक कालोपत्रे गरेर सक्ने दाबी पनि गर्नुभयो । बाँकी छ महिनामा रङ्गरोगन गर्ने, सडक सङ्केतहरू राख्ने र अन्तिम रूप दिने काम हुने भएकाले त्यही अनुसारको समय माग गरेको बताउनुभयो । 

२०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७५ चैतमा बाटोको शिलान्यास गरिएको थियो । सात वर्षको अवधिमा पनि काम नसकिएपछि अझै थप डेढ वर्षको समय माग गरिएको छ ।

बढीमा एक वर्ष थपिने

सरकारले भने एकै पटक डेढ वर्ष थप्न नसकिने बताएको छ । सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालका अनुसार छ महिनादेखि एक वर्षको समय थप्ने गरी छलफल चलेको छ । यसअघि गत साउनमा म्याद थप्दा पनि ठेकेदार कम्पनीले डेढ वर्षको समय मागेको थियो र अन्तिम पटक भन्दै एक वर्ष म्याद थप्ने र थपिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने सर्त पनि अघि सारिएको थियो तर अन्तिममा पूरै काम सम्पन्न नभए पनि नारायणगढदेखि बुटवलसम्म एकतर्फी कालोपत्रे गर्ने काम सक्नुपर्ने सर्त थियो तर ठेकेदार कम्पनीले त्यो पनि पूरा गरेन । 

यो एक वर्षको अवधिमा थप १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । अघिल्लो साउनसम्म सडक विस्तारको प्रगति ५२ प्रतिशत रहेकामा पछिल्लो एक वर्षमा १८ प्रतिशत थप गरेर अहिले ७० प्रतिशत प्रगति पुगेको आयोजनाको भनाइ छ । सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो । त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो । 

सो कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरु गर्न ११ महिना लागेको थियो । सुरुवाती चरणमा वातावरणीय प्रभाव मूल्याङ्कनबाट नौ हजार वटा रुख काट्नुपर्ने देखिएको थियो तर सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रुखको सङ्ख्या अत्यधिक बढी देखियो । अनि त्यही बिचमा कोरोना सङ्क्रमणको महामारी प्रमुख कारण देखाउँदै ठेकेदार कम्पनीले म्याद थपको समय मागी नै रहेको छ । 

यात्रुलाई सधैँ सास्ती

अझै पनि दाउन्नेको सकस उस्तै छ । जसले गर्दा यो बाटो भएर यात्रा गर्ने जोसुकैले पनि वर्षामा सास्ती भोगिरहनु परेको छ । ठाउँ ठाउँमा पुल भाँचिएर हैरानी खेप्दा पनि नयाँ पुल निर्माणको काम अझै बाँकी छ । गैँडाकोट, हर्कपुर, कावासोती, चोरमारा, आरुङखोला, दुम्कीवासमा नयाँ पुल अझै बनेका छैनन् । नयाँ पुल नबन्दा र पुराना भाँचिँदा बर्खाको समयमा बनाइएका डाइभर्सन पटक पटक खोलाले बगाउने गरेको छ । यसको मारमा यात्रु र चालक परिरहेका छन् । 

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनिएको यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी छ लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेनको सडक विस्तार गर्ने गरी एसियाली विकास बैँक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा सम्झौता भएको हो । राजमार्गको बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।