• २३ साउन २०८२, शुक्रबार

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको खयरलेक

blog

खयरलेक स्थित खयरबराह ताल र नजिकै रहेको खयरभारानीको थान। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,साउन २३ गते। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको खयरलेक स्थित खयर भारानीमा भोली शनिबार जनै पूर्णिका दिन विशेष पूजाआजा हुन्छ। मनले चिताएको बर मागेमा पूरा हुने जनविश्वासका कारण भक्तजनहरु जनै पूर्णिका दिन खयरभारानीको दर्शनका लागि जाने गर्दछन्। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित खयरभारानीको दर्शनका लागि सयौं तिर्थयात्री शुक्रबार साँझ नै खयरलेकदेखि केही तल रहेको खयरखोलामा पुगिसकेका छन्। अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरबराह  तालको छेवैमा अवस्थित खयरभारानीको दर्शन र पूजाका लागि भक्तजन तीन दिनअघि देखि नै पर्यटकीयस्थल खोप्रा हुँदै खयर खोलामा पुगिसकेका हुन। 

खयरबराह ताल समुन्द्री सतहदेखि चार हजार ६ सय ३० मिटरको उचाइमा पर्दछ। खयरभारानी थान क्षेत्र संरक्षण कोषले तिर्थयात्रीका लागि खोप्रा र  खयरखोलामा सुपथ मूल्यमा बसोबासको व्यवस्था मिलाएको कोषका संरक्षक राजु पुनले बताउनुभयो। 

खयरबराह ताल  र परिसरमा रहेको खयरभारानीको थानमा जनैपूर्णिका दिन ठूलो संख्यामा भक्तजन दर्शन र पूजाआजाका लागि पुग्ने गर्दछन्। खयरभारानीको दर्शन र पुजाआजा गरेमा मनोकांक्षा पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ। 

जनै पूर्णिमाका दिन खयरखोलाबाट बिहानै यात्रा तय गनुपर्दछ। केही माथि पुगेपछि धोतीखोलामा पुगेर स्नान गर्ने, कपडा फर्ने गरिन्छ। उकोलो चढेपछि खयरभारानी पुग्न सकिन्छ। भारानीसँग मनले चिताएको वर मागे पूरा हुन्छ भन्ने गहिरो विश्वासका कारण पछिल्ला केही वर्षयाता भत्तजनको संख्यामा वृद्धि भएको कोषका संरक्षक पुनले बताउनुभयो। 

एकपटकको यात्रामा एउटा मात्र वर माग्नुपर्ने प्रचलन छ। खयरभारानीको दर्शन गर्ने मौलिक विधि छ। खयरलेक पुगेका भक्तजनहरुलाई व्यवस्थित पूजाआजाको व्यवस्था मिलाउन पाउद्धारवासीहरु स्वयमसेवकका रुपमा परिचालन भएका हुन्छन्।