• १५ असार २०८१, शनिबार

दुर्लभ डल्फिन अवलोकन सिजन सुरु

blog

कैलालीका नदीमा देखिएको डल्फिन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १२ गते । मनसुन सुरु भएसँगै कैलालीमा दुर्लभ डल्फिन अवलोकन सिजन सुरु भएको छ । मनसुनभरि यहाँको नदीहरुमा डल्फिन देखिने गरेकाले यो समय अवलोकनका लागि उपयुक्त मानिन्छ । 

नदीमा जलस्तर बढेपछि हिजोबाट पथरैया नदी र गैरी खोलाको दोभानमा आमा र बच्चा गरी दुई वटा डल्फिन देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष चाँडै वर्षा भएपछि जेठ ३१ गतेबाट नै डल्फिन सहायक नदीहरुमा देखिन थालेका थिए । यो वर्ष ढिलो गरी पानी परेकाले ढिलो गरेर नै डल्फिनहरु आएको ढुङ्गानाले बताउनुभयो । “डल्फिन आउने क्रम सुरु भइसकेको छ । नदीहरुमा पानीको सतह बढेपछि अब यिनीहरुको सङ्ख्या बढ्दै जान्छ”, उहाँले भन्नुभयो । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन त्यसको सहायक नदीहरु मोहना, पथरैया, काँढा, कान्द्रामा मनसुन सिजनमामात्रै आउने गरेका छन् । बच्चा हुर्काउनका लागि सहायक नदीहरुमा आएको बेला टीकापुर नगरपालिका-७, भजनी नगरपालिका-३ र ८ स्थित डल्फिन संरक्षण क्षेत्रमा यिनीहरुको नजिकबाट अवलोकन गर्न सकिन्छ । 

विश्वमै दुर्लभ डल्फिन अवलोकनका लागि बर्सेनि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेको ढुङ्गानाले बताउनुभयो ।