• १३ असोज २०८१, आइतबार

सुन्तलामा औँसा कीरा

blog

बागलुङ समाचारदाता

बागलुङ, कात्तिक २८ गते । बिक्री गर्ने बेला सुन्तला कुहिएर बोटमै झर्न थालेपछि बागलुङका सुन्तला उत्पादक चिन्तित भएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा भेटिएको छ । सो कीराका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो । 

अन्नबाली छोडेर व्यावसायिक सुन्तला खेती उत्पादनमा लागेका कृषक बिक्री गरेर आम्दानी गर्ने बेलामा फल झर्ने र कुहिने भएपछि मर्कामा परेका हुन् । “बेच्ने बेलाका सुन्तला बोटैमा कुहिएर झर्न थालेका छन् । कीराको समस्याले हैरानी दिएको छ,” बागलुङ नगरपालिका–८, सिगानाका सुन्तला उत्पादक आनन्द खड्काले भन्नुभयो । 

आफ्नो सुन्तला बगैँचामा उत्पादन भएका फलमध्ये करिब १० प्रतिशत सुन्तला झरेको उहाँले बताउनुभयो । सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीराको प्रकोप देखिएपछि कृिष ज्ञान केन्द्रले अध्ययन तथा रोकथाम सुरु गरेको छ । सो ज्ञान केन्द्रबाट खटिएको प्राविधिक टोली औँसा कीराको समस्याबारे बुझ्न बागलुङ नगरपालिका–१३, पाग्जा पुगेको छ । त्यहाँ झरेको एक दाना सुन्तला अध्ययन गर्दा १३ वटा औँसा कीरा भेटिएको पुनले जानकारी दिनुभयो । अमिलो जातका फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यसको सङ्क्रमण फैलिएको छ । बागलुङ, जैमिनी र काठेखोलाका कृषि शाखाले कीराको सङ्क्रमण रोक्न प्लास्टिक झोला माग गरेका छन् ।