• १५ असार २०८१, शनिबार

इलाममा निर्वाचन सुरक्षा तयारी पुरा

blog

इलाम, कात्तिक २८ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।  

सुरक्षाका हिसाबले विभाजन गरिएका मतदान केन्द्रहरू, मतदान स्थलहरू सबै स्थानमा सुरक्षा व्यवस्था कडा गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । जिल्ला स्थित सुरक्षा समितिले इलाममा ३६ वटा मतदान केन्द्रहरूलाई अति संवेदनशील, ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनी छुट्टाएको छ । ‘सुरक्षा, दुरी, मतदाताको पहुँच हरेक हिसाबले कुन केन्द्र कति संवेदनशील छ भनेर छुट्टाएका छौँ । यसरी छुट्टाए पनि सबै मतदान केन्द्रहरूको सुरक्षा अवस्था मजबुत बनाइएको छ ।’ प्रजिअ ढुङ्गानाले भन्नुभयो ‘जिल्लाका दश वटै पालिकामा जिल्लाबाट सुरक्षाकर्मीको टोली गइसकेको छ । अब कात्तिक ३० गते टाढा रहेका मतदान स्थल र मङ्सिर १ गते बेलुकासम्ममा सदरमुकाम नजिक रहेका मतदान केन्द्र तथा स्थलहरूमा निर्वाचनमा खटिएका कर्मचारी सहित सुरक्षा टोली पुगिसक्ने छ ।’

यस पटक इलाममा ५५० नेपाली सेना, ४५४ सशस्त्र प्रहरी, ७७५ नेपाल प्रहरी, एक हजार ४४८ जना म्यादी प्रहरी र १५ जना अनुसन्धानको टोली खटिने तयारी गरिएको प्रजिअ ढुङ्गाना बताउनु हुन्छ । यस पटक निर्वाचन बहिस्कारमा रहेको नेपाल कम्युनिस्ट पार्टीको समूहबाट हुने खतरालाई पनि विशेष चासो दिइएको बताइएको छ । केही दिन अघिमात्र निर्वाचन बहिस्कारका लागि सार्वजनिक स्थानमा कोर्न लागेका उक्त पाटीका सात कार्यकर्ता पक्राउ परेकाले पनि त्यस समूहबाट हुनसक्ने खतरालाई ध्यान दिइएको प्रजिअ ढुङ्गानाले बताउनु भयो । ‘चार दिन अघि इलाम सदरमुकामबाट ३ जना र सूर्योदय नगरपालिकाबाट ४ जना कार्यकर्ता समातेर उनीहरूलाई निर्वाचनमा केही नगर्ने गरी छोडेका छौँ ।’ प्रजिअ ढुङ्गानाले भन्नुभयो ‘तर, त्यो समूहबाट पनि केही हुँदैन भन्ने हाम्रो ठहर छ ।’ 

जिल्ला सुरक्षा योजना अन्तर्गत निर्वाचनका दिन भर खटिने गरेर चार वटा मोबाइल टोली पनि बनाइएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहने र निर्वाचन क्षेत्रमा खटाइएको टोली उप–सचिव स्तरको कर्मचारीको नेतृत्वमा रहने जनाइएको छ । 

यस्तै निर्वाचनलाई मध्यनजर गर्दै पूर्वी नेपाल–भारत सीमाना शील गर्ने विषयमा भारतको दार्जिलिङ स्थित सरकारी समकक्षीहरू सँग बैठक बसेर त्यसको तयारी गरिएको प्रजिअ ढुङ्गानाले बताउनु भयो । दुई दिन अघि नेपाल–भारत सीमाना पशुपतिनगर स्थित फाटकमा भएको बैठकमा निर्वाचनको ७२ घण्टा अघि सीमा शील गर्ने, निर्वाचनको मौका छोपेर हुन सक्ने निकासी पैठारीका गतिविधि रोक्ने लगायतका विषयमा छलफल भएको ढुङ्गानाको भनाइ छ ।

Author

कोकिला ढकाल